‘माइतीघर’को पब्लिसिटीमा एक करोड खर्च गर्दै रोहित
काठमाडौं । नेपाली चलचित्र पब्लिसिटीमा चुकिरहेको भन्दै नयाँ कन्सेप्टमा जान आवश्यक रहेको निर्माता रोहित अधिकारीले बताएका छन् ।
राम्रो चलचित्र बनाएर पनि पब्लिसिटी गर्न नसक्दा चलचित्रले हाइप बनाउन नसक्ने राम्रो क्रिएसन यत्तिकै मरिरहेको उनको भनाइ छ ।
नेपाली चलचित्र उद्योगले अब मेकिङसँगै पब्लिसिटीमा विशेष ध्यान दिनुपर्ने उनको धारणा छ । अब आफू भने ‘माइतीघर’ चलचित्रबाट फरक तरिकाले पब्लिसिटीमा जाने उनी बताउँछन् ।
“म माइतीघरको पब्लिसिटीमा मात्रै एक करोड रुपैयाँ खर्च गर्छु । कसरी प्रभावकारी पब्लिसिटी गर्न सकिन्छ, त्यसमा विशेष ध्यान दिन्छु,” रोहित भन्छन्, “प्रभाव पार्ने प्लेटफर्मममा विज्ञापन गर्नु पर्ने हो अथवा अरु कुनै तरिकाले आम दर्शकमा जान सकिन्छ सबै उपाय लगाउने योजना छ ।”
दशकौंदेखि एउटै फर्म्याटबाट नेपाली चलचित्रको पब्लिसिटी भइरहेको र अब यसरी नचल्ने उनको निष्कर्ष छ ।
नेपाली चलचित्रको निर्माताले अहिले पोस्टर, टिजर, ट्रेलर, सामाजिक सञ्जाल, मिडिया अन्तर्वार्ता र मोफसल टुरमार्फत पब्लिसिटी गर्दै आएका छन् । पछिल्लो समय कलाकारलाई लिएर मोफसलको टुर गर्ने चलन बढेको छ । तर, यो पनि पुरानो भइसकेको छ ।
त्यसैले अब नयाँ तरिका अपानाएर र ग्रान्ड योजना बनाएर ग्रान्ड पब्लिसिटी गर्नुको विकल्प नरहेको रोहित बताउँछन् । त्यसैले अब मेकिङलाई जत्तिकै पब्लिसिटीमा पनि ध्यान दिने उनको भनाइ छ ।
‘माइतीघरमा’ केदार घिमिरे, प्रकाश सपूत, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, दिकिला शेर्पालगायत अनुबन्धित भइसकेका छन् भने धिरज मगरसँग कागजी सम्झौता हुन बाँकी रहेको बुझिएको छ ।
चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिलाले यही चलचित्रबाट डेब्यु गर्न लागेकी हुन् । गतसाता युट्युवमा रिलिज भएको गायक एकदेव लिम्बुको गीत ‘झिम झिमाउने आँखा’मा पनि अभिनेत्री उपासनासँगै दिकिलाले अभिनय गरेकी थिइन् । उनीसँग ‘माइतीघर’को निर्माण पक्षले मौखिक सहमति गरे पनि कागजी सम्झौता भने हुन बाँकी रहेको छ, हाल भारतमा रहेकाले उनी नेपाल आएसँगै अर्को साता कागजी सम्झौता हुने छ ।
यी कलाकारहरू फाइनल भएसँगै निर्माता अधिकारीले मुख्य कलाकारहरूको लाइनअप पुरा भएको बताए ।
मिलन तामाङले चलचित्र निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । पटकथा तथा संवाद भने रामशरण पाठकको रहनेछ । चलचित्रमा रविन शेरचन र धिरज तामाङ निर्माता रहनेछन् । कार्यकारी निर्माता चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् ।
फेमेली ड्रामा ‘माइतीघर’ले छोरीले माइतीघर छोड्दाको इमोसन कथा भन्ने रोहित बताउँछन् ।
चैत अन्तिममा चलचित्र छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनले बताए । चार करोडभन्दा माथि लागतमा यो चलचित्र बन्नेछ ।
रोहित बिग बजेटमा चलचित्र बनाउँदै आएका निर्माता हुन् । ‘फर्की फर्की’, ‘छ माया छपक्कै’ र ‘गाजलु’ रोहितले निर्माण गरेका चलचित्र हुन् ।