दीपक–दीपाको अनुकरणीय काम, सके सिकौँ नसके आलोचना पनि नगरौँ

चलचित्र ‘छक्का पञ्जा–५’ निर्माण टिमले काभ्रेको दाप्चामा खानेपानी आयोजना निर्माणका लागि सहयोग गरेको छ । असोज ११ र १२ गतेको भीषण बाढीले रोशी खोलाबाट लिफ्टिङ गरेर ल्याएको खाने पानीको आयोजना बगाएपछि खाने पानी उपभोग गर्नबाट बञ्चित भएका स्थानीयलाई उक्त आयोजना निर्माणका लागि ‘छक्का पञ्जा–५’ निर्माण टिमले सहयोग गरेको हो ।

निर्माता तथा कलाकार दीपकराज गिरी र कार्यकारी निर्माता तथा कलाकार निर्मल शर्माले पाँच लाखभन्दा माथि रकम सहयोग गर्दै खाने पानीको पाइप किन्नका लागि सहयोग गरेका हुन् । ‘छक्का पञ्जा’को टिमले हरेक वर्ष आफ्नो चलचित्र छायांकन भएको ठाउँमा आवश्यकता अनुसार एम्बुलेन्सलगायत सहयोग गर्दै आएको छ ।

यसअघि चलचित्र दोस्रो सातामा चलिरहेका बेला निर्माणटिमले दाप्चा क्षेत्रमा बस्ती निर्माणका सहयोग गर्ने घोषणा गरेको थियो ।

‘छक्का पञ्जा’ टिमले आवश्यकता अनुसार हरेक पटक छायांकनस्थलका स्थानीयलाई सहयोग गर्दै आएको छ । कोभिडका बेला काम नपाएर हातमुख जोर्न समस्यामा परेका चलचित्र प्राविधिकलाई पनि ‘छक्का पञ्जा’ टिमले सहयोग गरेको थियो ।

कलाकारलाई आर्थिक अभावमा उपचारबाट बञ्चित भएको अवस्थामा होस् अथवा चलचित्र विकास बोर्डको मातहतमा रहेको चलचित्र कलाकार कल्याणकारी कोषमा पनि दीपकराज गिरी र दीपाश्री निरौलालले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

यो समूह अफ्ठ्यारोमा परेका चलचित्रकर्मी तथा यससँग सम्बन्धित केही व्यक्ति वा संस्थालाई सहयोग गर्दै आएको छ । यो आफैँमा प्रेरणादायी काम हो । आफूले कमाएको केही पैसा अरुलाई सहयोग गर्नु आफैँमा राम्रो हो । भलै सबैले यो गर्नैपर्छ र गर्छन् नै भन्ने पनि छैन । दान, धर्म र सहयोग भनेको व्यक्तिको स्वेच्छाको कुरा हो ।

यसलाई यही चलचित्र उद्योग र चलचित्रकर्मीलाई नै हेरे पुग्छ । दीपक–दीपा र निर्मल शर्माभन्दा धेरै कमाउने चलचित्रकर्मी पनि छन् । उनीहरूका चलचित्रले भन्दा धेरै कमाउने चलचित्र पनि छन् । तर उनीहरूले जस्तो सहयोग गरेको देखिँदैन ।

हुन त सहयोग गरेर पनि आम सञ्चारमाध्यम र आम जनतालाई थाहा नभएको पनि हुनसक्छ । तर, दुई पोका चाउचाउ र एक बोतल पानी बाँडेर फेसबुक, टिकटक र इन्स्टामा फोटो/भिडियो पोस्ट गर्ने नेपाली समाजमा लाखौँ लाख सहयोग गरेको त कसले लुकायो होला भनेर विश्वास गर्नु ?

दीपक–दीपा र छक्का पञ्जा टिम त्यस्तो समूह हो जो हरेक काममा गाली खान्छ । आलोचनात्मक मात्रै होइन राम्रो र सराहनीय काम गर्दा पनि उनीहरूलाई गाली गर्नेको ठूलो तप्का छ । राम्रो काम गरेर पनि उनीहरू अनपेक्षित रूपमा गाली खाइरहेका हुन्छन् । समकालीनहरू रमिते बनिरहेका बेला दीपक–दीपा समाज सेवा गरिरहँदा पनि उनीहरूको आलोचना भइरहेको हुन्छ । जुन आफैँमा गलत प्रवृत्ति हो ।

राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्नुपर्छ । राम्रो काम जो सुकैले गरोस्, ऊ धन्यवादको पात्र हो । राम्रो काम गर्नेलाई निरुत्साहित होइन हौसला दिनुपर्छ । राम्रो काम जो सुकैले गरोस्, त्यसको अनुकरण गर्नुपर्छ ।