सिनेमाको स्क्रिप्ट लेखनमा आकर्षित हुँदै साहित्यकार

काठमाडौं । नेपाली चलचित्र उद्योगमा भनेजस्तो पस्क्रिप्ट पाइँदैन भन्ने मेकरको थेगो नै भइसकेको छ । अब्बल स्क्रिप्ट राइटर छैनन् भन्नु सामान्य जस्तै भइसकेको छ ।

किन हो थाहा छैन प्राय्रः नेपाली चलचित्र उद्योगमा निर्देशक नै आफूले निर्देशन गर्ने चलचित्रको स्क्रिप्ट लेख्छन् । बहुसंख्यक निर्देशक आफैँले आफ्नो सिनेमाको स्क्रिप्ट लेखिरहेका छन् ।

किन भनेर प्रश्न गर्दा अधिकांश भन्ने गर्छन्, ‘भनेजस्तो स्क्रिप्ट लेख्ने स्क्रिप्ट राइटर नै छैनन् । त्यसैले आफैँ लेख्छु ।’ यसको गर्जो टार्न केहीले नेपाली आख्यानका चलचित्र बनाइसकेका छन् । अर्थात् साहित्यकारले लेखेका र रुचाइएका पुस्तकमाथि सिनेमा बनाइएका छन् ।

‘कुमारी’बाट नेपाली साहित्यिक कृतिमाथि चलचित्र बन्न थालेको पाइन्छ । विजय मल्लको उपन्यास ‘कुमारी शोभा’ चलचित्र ‘कुमारी’ बनाइएको थियो । प्रेमबहादुर बस्नेतले उक्त चलचित्र निर्देशन गरेका थिए ।

‘वासुदेव’, ‘तीन घुम्ती’, ‘झोला’, ‘वसन्ती’, ‘बसाइँ’, ‘सेतो बाघ’, ‘प्रेमपिण्ड’, ‘समर लभ’, ‘चिसो एस्ट्रे’, ‘मसान’, ‘सिरिसको फूल’, ‘झिँगे दाउ’, ‘अग्नि दहन’, ‘मुनामदन’लगायत आख्यानमा चलचित्र बनेका छन् ।

तर, यहाँ महत्वपूर्ण पक्ष के भने लोकप्रिय आख्यानमा बनेका चलचित्र चाहिँ कमजोर छन् । एकाधलाई छोड्ने हो भने अधिकांश कमजोर चलचित्र बनेका छन् । ‘वसन्ती’, ‘वासुदेव’, ‘प्रेमपिण्ड’, ‘झोला’, ‘झिँगे दाउ’सफल भए । बाँकी अधिकांश त्यस्ता चलचित्र बक्सअफिसमा असफल भएका छन् ।

नाटकमा बनेका चलचित्र त थुप्रै छन् । तर, तीनले पनि लोभलाग्दो व्यापार र समीक्षा बटुल्न सकेका छैनन् ।

कथालाई पटकथामा रूपान्तरण गर्दा राम्रो शिल्प प्रस्तुत गर्न नसक्दा अब्बल आख्यानमा कमजोर सिनेमा बनिरहेका छन् । पुस्तकका लेखकको मनोविज्ञानसँग पटकथाकार साक्षात्कार हुन नसक्दा अब्बल पटकथा निर्माण हुन सक्तैन । परिणाम पर्दामा कमजोर चलचित्र बन्छन् ।

लेखकको उपस्थितिमा उनीहरूको भावनालाई प्रतिनिधित्व गराउन निर्देशक तथा पटकथाकार सक्तैनन्, जसका कारण चलचित्र कमजोर बनेका छन् । लोकप्रिय भइसकेका आख्यानमा तुलनात्मक रूपमा कमजोर सिनेमा बनेपछि दर्शकले नरुचाउनु स्वभाविक हो ।

४० को दशकको सुरुबाट आख्यानमाथि चलचत्रि बनाउन थालियो । यसले आजसम्म निरन्तरता पाइरहेकै छ । पाइपलाइनमा थुप्रै आख्यानमाथि सिनेमा बन्दैछन्, जो घोषणा भइसकेका छन् ।

आख्यानमा मात्रै होइन आख्यानकार नै सिनेमा लेखनमा आउन थालेका छन् । नयनराज पाण्डेले थुप्रै चलचित्रको स्क्रिप्ट लेखे । टेलिचलचित्रको संख्या त झनै धेरै छ उनले लेखेका ।
पछिल्लो समय स्क्रिप्ट लेखनमा राम्रो पैसा आउँछ भन्ने भएपछि पुनः आख्यानकारहरू सिनेमा लेखनतर्फ आकर्षित हुन थालेका छन् ।

केही समय अगाडि रिलिज भएको चलचित्र ‘के घर के डेरा : घर नं. २’ साहित्यकार बुद्धिसागरले लेखेका थिए । भलै यो चलचित्र दर्शको रोजाइमा परेन ।

उनले केही समय अगाडि नै निश्चल बस्नेतले निर्देशन गर्ने ‘जिन्दावाद’ लेखिसकेका थिए । यो सिनेमा भने हालसम्म बनेको छैन । बुद्धिसागरले नै अर्जुन कुमारको चलचित्रका लागि पनि स्क्रिप्ट लेखेको कुरा बाहिर आएको थियो । तर, यो सिनेमा बनेको छैन ।

दिनेश राउतले अब बनाउन लागेको चलचित्रमा विवेक ओझाको स्क्रिप्ट लेखन रहने बताइएको छ । तर, यसको औपचारिक घोषणा हुन बाँकी छ ।

कवि नवराज पराजुलीले पनि स्क्रिप्ट निकै पहिलादेखि नै लेखेको तर निर्माता तथा निर्देशकहरूले चित्त नबुझाएको बताइएको छ ।

यसले के देखाएको छ भने साहित्यकारहरू पनि स्क्रिप्ट लेखनतर्फ विस्तारै खिचिँदैछन् । तर, स्क्रिप्ट लेखन प्राविधिक विषय भएकाले साहित्य लेखन र यसमा धेरै समानता छैन ।

साहित्य कोरा कल्पनामा ठूलठूला घटनाक्रम र देशविदेशका कुनाकाप्चा लेखकले पाठकलाई सहजै घुमाउन सक्छन् । तर, चलचित्र दृश्य भाषा भएकाले पुस्तकमा जस्तो समावेश गरिहाल्न सकिँदैन । किनकी खिच्नलाई त्यती हसज हुँदैन । बजेटले धेरै कुरालाई खुम्च्याइदिन्छ ।

तर, भाषा र शिल्पमा दख्खल भएका आख्यानकारलाई स्क्रिप्टको प्राविधिक ज्ञानबारे पनि अब्बल बनाउन सके नेपाली सिनेमा उद्योगमा रहेको स्क्रिप्ट राइटरको खडेरी मेटिने सम्भावनालाई नकार्न सकिँदैन ।