‘जारी–२’ र फूलपातीमा रिलिज हुने भनिएका चलचित्र प्रदर्शनमा आउँछन् ?

काठमाडौं । चलचित्र रिलिजको संघारमा रहेका निर्माताहरू जेनजीको आन्दोलनपछिको विकसित घटनाक्रमले अन्योलमा छन् । अहिले रहेको निषेधाज्ञा र करफ्यु खुलेपछि पनि सिनेमा रिलिज गर्ने कि नगर्ने भन्ने दोधारमा निर्माताहरू रहेका छन् ।
चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारी तोकिएकै मिति दसैँको फूलपातिमा सिनेमा प्रदर्शन गर्ने बताए पनि अरुमा भने अन्योल देखिएको छ । ‘पर्ख र हेर’को रणनीतिमा छन् ।
“अहिलेसम्म हामी फूलपातीमै आउँछौँ । तर, पछिल्लो राजनीतिक घटनाक्रमले कुन मोड लिन्छ त्यही अनुसार आउँछौँ,” रोहित भन्छन्, “प्रचारप्रसारमा लाखौँ खर्च भइसकेको छ । राम्रो भएको अवस्थामा तोकिएको मितिभन्दा अन्त जाने छैनौँ । अहिलेलाई पर्ख र हेरको स्थितिमा छौँँ ।”
‘हरिबहादुरको जुत्ता’का निर्माता सरोज ओली पनि राजनीतिक घटनाक्रमले निर्धारण गर्ने बताउँछन् । “हामी चार दिन केही नबोल्ने स्थितिमा छैनौँ । ३१ गतेपछि बोल्नेछौँ । चलचित्रको सम्पूर्ण काम सकेर बसेका छौँ,” ओलीले भने, “रिलिज मिति आउन पनि १८ दिन बाँकी छ । राजनीतिक माहोल के कस्तो हुन्छ, त्यही अनुसार अगाडि बढ्छौँ । अहिलेलाई पर्खर हेरको स्थितिमै छौँ ।”
‘बलिदान’का कार्यकारी निर्माता प्रेम पुरी पनि राजनीतिक घटनाले रिलिज हुने वा नहुने निर्धारण गर्ने बताउँछन् । “चलचित्रको सम्पूर्ण काम सकिसकेका छौँ । यो राजनीतिक माहोल कसरी अगाडि बढ्छ । भोलिको दिनमा के कस्तो हुन्छ । त्यहीअनुसार अगाडि बढ्ने सोचिरहेका छौँ,” उनले भने, “राजनीतिक माहोल राम्रो भएको खण्डमा फूलपातीमै रिलिज गर्नेछौँ । पछिल्लो राजनीतिक घटनाक्रमले दशैँ भन्दा पनि सिनेमा हेर्ने फेस्टिभ मुड बनिरहेको छैन ।”
अबको राजनीतिले लिने बाटो अनुसार आफूहरू पनि रणनीति तय गर्दै अगाडि बढ्ने उनको भनाइ छ । “मनोरञ्जन गर्ने माहोल बनेको खण्डमा फिल्म पूर्वनिर्धारित मितिमै रिलिज हुन्छ,” उनले भने ।
‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ फूलपातीको दिन रिलिज हुने तय छ ।
असोज ३ गतेका लागि रिलिज डेट लिएको ‘जारी–२’ पनि रिलिज हुन्छ अथवा हुँदैन टुंगा छैन । “अहिले नै यसै भन्ने अवस्था रहेन । रिलिजको डेट आइसक्यो । अवस्था यस्तो छ । एकदुई दिनमा खुलिहाले पनि सिनेमा हेर्ने माहोल बन्छ कि बन्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ होला,” जारी–२ का निर्देशक उपेन्द्र सुब्बाले भने, “माहोल सिनेमा हेर्ने खालको बन्यो भने ठिकै हो । होइन भने सोच्नै पर्छ होला ।”
‘जारी–२’ को गीतको काम पनि केही बाँकी छ । सिनेमा सेन्सर हुन पनि बाँकी छ । “हेरौँ के हुन्छ राजनीतिक वातावरण,” उनले भने ।
जेन्जीको आन्दोलन सुरु भएसँगै सिनेमा हलहरू बन्द छन् । सिनेमा हल सञ्चालकहरूको संस्था चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले देशभरका केही हलमा क्षति पुगेको जानकारी दिए ।
“सिनेमा हल खोल्ने बारेमा निर्णय गर्न भोलि (शनिबार) छलफल गर्दैछौँ,” अध्यक्ष महर्जनले भने, “कहाँ–कहाँ क्षति भएको यकिन विवरण आइसकेको छैन । अब के गर्ने भन्ने कुरा भोलि नै निर्णय गर्नेछौँ ।”