दसैँमा यी चलचित्रको हुँदैछ महासंग्राम, कसले मार्ला बाजी ?

काठमाडौं । यो वर्षको दशैँमा पनि सिनेमाको महासंग्राम हुने भएको छ । दसैँ नजिकिँदै जाँदा चलचित्रको संख्या थपिनेक्रम पनि बढेको छ ।

अहिलेसम्मको तयारी हेर्दा यो वर्ष चारवटा चलचित्र रिलिज हुने पक्का छ । ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ यसअघि नै आउने पक्का थियो । अब यही मिति फूलपातीमा अर्को चलचित्र ‘अभिमन्यु’ थपिएको छ ।

यो सँगै अब चारवटा चलचित्र एकै दिन दशैँको फूलपातीमा आउनेछन् । यी चारवटा चलचित्रबीच यसपटक कडा प्रतिस्पर्धा हुने भएको छ । अब अरु चलचित्र भने सायद नआउलान् ।

वर्षभरी जुनसुकै दिन रिलिज हुँदा पनि सोलो रिलिजको मौका कमै मात्र मिल्ने र बिदा प्राय प्याक भइसक्ने अवस्थामा धेरैको रोजाइ दशैँ हुने गरेको छ । दशैँमा लामो बिदा हुने र परिवारका सबै सदस्य गएर चलचित्र हेर्ने भएकाले फूपाती धेरैको आँखामा पर्ने गरेको छ ।

यो वर्ष सुरुमा आधा दर्जनभनदा धेरै निर्माताले आफ्नो चलचित्र रिलिजका लागि फूलपातीको मिति ताकेका थिए । तर, बिस्तारै छाँटिदै गएर तीनवटामा झरेको थियो ।

तर, भदौ २७ मा आउने भनिएको ‘अभिमन्यु’ जेनजीको आन्दोनका कारण प्रदर्शन हुन नसकेपछि यसले पनि फूलपाती नै रोज्दा यो मितिमा आउने चलचित्रको संख्या चार पुग्यो ।

दुईवटा सिनेमा नेपाली हलले मजाले धान्न सक्छन् । तर, त्यसबाट चलचित्रको संख्या उकालो लागेपछि भने समस्या हुन्छ । चलचित्रको संख्या जति उकालो लाग्छ उनीहरूले पाउने शोको संख्या भने त्यही अनुपातमा ओरालो लाग्छ ।

यो वर्ष चारवटा चलचित्र एकै दिन आउने भएपछि यी चलचित्रले सुरुमा पाउने शोको संख्यामा भने निकै कम हुनेछ । त्यसमा विदेशी भाषाको सिनेमा पनि आउने पक्का छ । यसपछि शो संख्या थप घट्नेछ । यसको मारमा सबै चलचित्र पर्नेछन् ।

जुन चलचित्रको बुकिङ धेरै देखिनेछ र दर्शकको फ्लो धेरै हुनेछ, त्यसैले अरुका शो काट्दै आफ्नोमा थप्दै जानेछ । कम शो पाएपछि चलचित्र चल्न पहिलो कुरा, त चलचित्र निकै राम्रो हुनुपर्नेछ । अर्को कुरा, राम्रै चलचित्र भए पनि शो थोरैमा खुम्चिँदा कलेक्सन पनि स्वतः कम हुनेछ ।

निर्माता मारमा परे पनि दर्शकलाई भने फाइदा हुने भएको छ । छानीछानी चलचित्र हेर्न पाउने भएका छन् । एक्सन सिनेमा ‘बलिदान’, सस्पेन्स थ्रिलर ‘अभिमन्यु’, सोसल ड्रामा ‘हरिबहादुरको जुत्ता’ र सोसल लभस्टोरी ‘माइतीघर’ हेर्न पाउने भएका छन् ।

यी मध्ये कसले बाजी मार्ने हो, फूलपातीकै दिनपछि थाहा हुनेछ । दर्शकले कुन चलचित्रलाई साथ दिने हो, त्यही बेला थाहा हुनेछ ।

‘माइतीघर’मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपूत र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । मिलन मोक्तानले निर्देशन गरेका छन् ।

‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । उनीसँगै सौगात मल्ल, ऋचा शर्मा, सन्तोष सेनलगायत कलाकार छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । उनीसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत पनि मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, सरिता गिरी, किरण श्रेष्ठ, प्रकाश दाहाल लगायत छन् । यो चलचित्रलाई शुशान्त गौतमले निर्देशन गरेका छन् ।