दबाबबीच प्रकाशले भने– मेरा लागि ‘माइतीघर’ छोरी र ‘हरिबहादुरको जुत्ता’ छोरा हो

काठमाडौं । यो दशैँमा प्रकाश सपूतका दुईवटा चलचित्र रिलिज हुँदैछन्, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ । दशैँको फूलपातीमा यी चलचित्र एकै दिन रिलिज हुँदैछन् ।

एकै दिन चलचित्र रिलिज हुँदा प्रकाश दबाबमा छन् । प्रकाशले कुन चलचित्रलाई प्राथमिकतामा राख्लान् र कुनलाई कम प्राथमिकता देलान् भन्ने अनुमानबीच उनले यसबारे प्रष्ट पारेका छन् ।

बिहीबार चलचित्र ‘माइतीघर’को ट्रेलर रिलिज कार्यक्रममा प्रकाशले आफ्ना लागि दुईवटै चलचित्र उत्तिकै समान रहेको बताए । उनले दुवै चलचित्र आफ्ना सन्तान भएको बताए । र, सन्तानको माया घटीबेसी नहुने उनको भनाइ छ ।

प्रकाशले एउटा चलचित्र छोरा र अर्को छोरी भएको बताए । “मेरा लागि यी दुई चलचित्र उत्तिकै छन् । यी दुईवटा चलचित्र मेरा सन्तान हुन्,” प्रकाशले भने, “माइतीघर मेरा लागि छोरी हो । हरिबहादुरको जुत्ता छोरा हो । त्यसैले कुनै घटीबेसी छैन ।”

उनले दुईवटै चलचित्र हेर्न दर्शकका लागि आग्रह गर्ने र समय मिलाएर पब्लिसिटीमा हिँड्ने प्रष्ट पारे ।

आफ्नो चाहना एकै दिन दुईवटा चलचित्र रिलिज नभइदिएइको हुन्थ्यो भन्ने भए पनि आइसकेपछि म्यानेज गरेर अगाडि बढ्ने प्रकाशले बताए ।

मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको चलचित्र दशैंको फूलपातिबाट रिलिज हुँदै छ ।

सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

चलचित्रमा प्रकाशसँगै केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरुको अभिनय छ ।