आरोपसँगै प्रमाण पेस गर, आरोपित कुरा के हो प्रष्ट पार

सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार ‘अञ्जिला’ सिफारिस भएको आधिकारिक जानकारी दिएको थियो ।

समितिका अध्यक्ष विमल पौडेलले यस वर्ष ओस्कारमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो’ र ‘अञ्जिला’ प्राप्त भएका र दुवै चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पको मूल्यांकनपछि ‘अञ्जिला’ छनोट गरिएको बताएका थिए ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले यो निर्णय सार्वजनिक गरेलगत्तै ‘गुन्यु चोलो’की निर्देशक समुन्द्र भट्टले असन्तुष्टि जनाइन् । उनले आफ्नो चलचित्र ‘अञ्जिला’भन्दा राम्रो भएकाले ‘गुन्यु चोलो’ छनोट हुनुपथ्र्यो भन्ने आसयले लामो स्टाटस लेखिन् ।

“यो देशमै बसेर नयाँ विषयवस्तुमा काम गर्ने, आफ्नै सिर्जनाले अन्तर्राष्ट्रियस्तरमा देशलाई प्रतिनिधित्व गर्ने सपना बोकेर हिँड्नु आजभोलि असम्भवजस्तो लाग्न थालेको छ । हामीले ओस्कारका लागि भनेर रातदिन खटेर गरेको मिहिनेत पैसाको खेलले ओझेल पारिदिएको देख्दा मन अत्यन्त पीडित हुन्छ,” समुद्रले लेखिन्, “हिजोमात्रै हाम्रो युवा पुस्ताले भ्रष्टाचार नहोस् भन्दै आफ्नै जीवन बलिदान दिनुपरेको देश हो यो । आज फेरि त्यही अवस्थाको पुनरावृत्ति भइरहेको महसुस हुन्छ । पैसा भए अवसर किनबेच हुने, पैसा भए सिर्जना नै दबिने यस्तो संस्कृतिले हामीजस्ता सिर्जनशील श्रमिकहरूको पीडा कसले बुझ्ने ?”

उनले चलचित्र विकास बोर्डको नियुक्तिको कुरा पनि उठाएकी छन् । “अघिल्लो पटक पनि मेरो नियुक्ति केवल राजनीतिक स्वार्थका कारण खारेज गरिएको थियो । आज फेरि देशको प्रतिनिधित्व गर्नेजस्तो संवेदनशील र गौरवमयी अवसरलाई समेत पैसामा बेचिनु केवल दुःखद् मात्र होइन, अपमानजनक पनि हो । फिल्मलाई, सिर्जनालाई र न्याय दिने निर्णायकहरूलाई कसको मातहतमा राख्ने ?” उनले अगाडि लेखेकी छन्, “कसरी निष्पक्षता सुनिश्चित गर्ने ? हाम्रो आवाजलाई अन्ततः कसले सुन्ने ? यो प्रश्न व्यक्तिगत मात्र होइन, सम्पूर्ण नेपाली सिर्जनशील जगतकै सामूहिक चिन्ता हो । सायद मलाई चिनेको जस्तो छैन ओस्कार कमिटीले । मसँग मागेको भए म त हरेकलाई १०/१० लाखै दिन्थेँ नि, हाहाहा…, कति हाँस्नु ।”

समुन्द्रले यस्तो आरोप लगाइन्, ‘अञ्जिला’का निर्माता/निर्देशकसँग छनोट कमिटीले पैसा खाएर निर्णय गर्‍यो । उनले कमिटीका हरेक सदस्यले एक/एक लाख रुपैयाँ नै लिएको दाबी पनि गरेकी छिन् ।

फेसबुकमा मात्रै लेखर चित्त नबुझेपछि उनले विज्ञप्ति नै जारी गरिन् । त्यतिमा मात्रै पनि नरोकिएकी उनले पत्रकार सम्मेलन नै गरिन् ।

उनले आरोप लगाइन्, यसको अर्थ उनले जे भनिरहेकी छन्, त्यो सत्य हो भनेर भन्न सकिँदैन । किन भने अपेक्षा पूरा नहुँदाको अपरिपक्व निर्णय र आवेग पनि हुनसक्छ भन्ने आशंका गर्न सकिन्छ ।

त्यसैले यसमा ‘अञ्जिला’का निर्देशक, निर्माता र निर्णयक कमिटी भने बोल्नुपर्छ । सत्य के हो प्रष्ट पार्नुपर्छ । होइन भने उनीहरू साँच्चै दोषी ठहर हुनेछन् । अदालतले दोषी ठहर नगरेकाले कठघरामा त बस्नु नपर्ला तर आम मानिसले दोषी सम्झनेछन् । र, त्यसको भारी जिन्दगीभर बोक्नुपर्नेछ ।

कमिटीले पैसा नलिएको भए, बोल्न डर मान्नु पर्दैन । पैसा नदिएका निर्माता र निर्देशकले पनि बोल्न डर मान्नु पर्दैन । आफू आरोप लगाएजस्तो नरहेको प्रष्ट पार्न पनि बोल्न आवश्यक छ । होइन भने दोषी करार भएको एकअर्थमा सबैले बुझ्नेछन् ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर)ले पनि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)को कमिटीको मौनतालाई शंकाको दृष्टिले हेर्नसक्छ । र, नेपाललाई आगामी दिनमा त्यही अनुसारको निर्णय गर्नसक्छ । यसका लागि पनि प्रष्ट पार्नै पर्छ ।

आरोप लगाउने पक्षले छनोटको विधि, प्रक्रिया र व्यक्तिप्रति पनि प्रश्न उठाएकी छन् । यो बहसको विषय होला । तर, आरोप लगाउँदा त्यसलाई पुष्टि गर्ने प्रष्ट आधार प्रमाण दिनसक्नुपर्छ । तोकेरै यति दिएको र लिएको भनेर भनिरहँदा त्यसको ठोष प्रमाण नै अगाडि राखिदिएको भए आफैँ बलियो हुने अवस्था हुन्थ्यो ।

पत्रकार सम्मेलनमा उनले भनिन्, म सँग ठोष प्रमाण छैन, आवेगमा बोलेँ । यो परिपक्व भएन । आज आवेगमा घुुस लिएको र दिएको बताएँ भन्नेले रिस शान्त हुँदै गएपछि धेरै कुरा आवेगमा थिए भन्ने हो भने यो मिडिया ट्रायल मात्रै थियो भन्ने प्रमाणित हुनेछ । घुस लिए र दिएको कुरा आवेगको निर्णय थियो भनेर सहजै भन्दैमा उम्किने विषय त्यतिबेला नबन्न सक्छ, जतिबेला आरोपितले मानहानीको कानुनी बाटो खोज्छन् । त्यसैले यो विषयलाई त्यति हल्का बनाइनु हुँदैन ।

मौखिक आरोपले मात्रै सबैले विश्वास गरिहाल्ने अवस्था छैन । किनकी यो यस्तो उद्योग हो, जहाँ एकले अर्कालाई पाइलापाइलामा सिद्याउन षड्यन्त्र गरेको देखिन्छ । त्यसैले आरोप लगाउने पनि प्रमाणसहित आउनुपर्छ, आरोपितले पनि आफू निष्कलंक रहेको प्रष्ट पार्नुपर्छ ।