अन्ततः दशैँमा तीनवटै सिनेमा, कसले जित्ला दर्शकको मन ? ट्रेलरले के गरे संकेत ?

काठमाडौं । यो वर्षको दशैँमा चारवटा नेपाली सिनेमा रिलिजको तयारी र प्रचारबीच अन्ततः तीनवटै सिनेमा रिलिज हुने भएको छ ।

‘अभिमन्यु’ले जसरी अन्तिम समयमा आएर फूलतापतीमा रिलिज हुने निर्णय गरेको थियो, त्यसैगरी ब्याक हुने पनि निर्णय गर्दा असोज १३ मा तीनवटै चलचित्र प्रदर्शन हुने पक्का भएको हो ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शो दिन नसकिने भन्दै पछि सर्न आग्रह गरेपछि ‘अभिमन्यु’ ब्याक भएको हो । अब फूलपातिमा ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ रिलिज हुनेछन् । सुरुमा पनि यी तीनवटा चलचित्र नै थिए । ‘अभिमन्यु’ पछि थपिएको थियो ।

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ तीनवटै बिग बजेटमा बनेका चलचित्र हुन् । यी तीनमध्ये पनि ‘बलिदान’ले अझै धेरै खर्च गरेको छ । एक्सन सिनेमा र लामो समयको सुटिङ सेड्युलका कारण यो चलचित्रको बजेट निकै बढी छ, अन्य दुई चलचित्रको तुलनामा ।

तीनवटै सिनेमाको मुख्य प्रचार सामग्री ट्रेलर रिलिज गरेका छन् । ‘बलिदान’ले एक्सनमा जोड दिएको छ । राजनीति, देशप्रेम र एक्सनमार्फत यो चलचित्रले दर्शकको ध्यान खिच्न खोजेको छ । एक्सनमा नेपाली सिनेमालाई नयाँ उचाइमा पु¥याउने निर्माणपक्षले दाबी गर्दै आएको छ ।

सोसल ड्रामा, कमेडी जनरामा बनेको चलचित्र हो, ‘हरिबहादुरको जुत्ता’ । यसको ट्रेलरले मास अडियन्सलाई अपिल गरेको छ ।

सस्पेन्स, कमेडी र सोसल ड्रामा भएकाले यसले धेरैको ध्यान खिच्ने प्रयास गरेको छ । फेमेली अडियन्सलाई टार्गेट गरेको लाइट कमेडी यो चलचित्रका सबै दर्शक लक्षित समूह रहेको ट्रेलरले देखाएको छ ।

सोसल ड्रामा ‘माइतीघर’को ट्रेलर पनि रिलिज भइसकेको छ । फेमेली अडियन्स यसको टार्गेट गरेको छ । तर, ट्रेलरमा केही द्विअर्थी शब्द पनि छन् । यसमा कमेडी पनि छ । लभस्टोरी पनि छ । त्यसैले यसले पनि सकेसम्म सबै दर्शक तान्ने प्रयास गरेको देखिन्छ ।

‘माइतीघर’मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपूत र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । मिलन मोक्तानले निर्देशन गरेका छन् ।

‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । उनीसँगै सौगात मल्ल, ऋचा शर्मा, सन्तोष सेनलगायत कलाकार छन् । सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । उनीसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत पनि मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।