‘माइतीघर’बारे धिरज भन्छन्– मेरो पात्र ग्रे सेडमा छ, यही नै मलाई मन परेको हो

काठमाडौं । दशैंको फूलपातीबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । चलचित्रको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा निर्माणपक्षको छ ।

चलचित्रका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज उत्साहित छन् । यो फिल्मको स्क्रिप्ट उनले दुई वर्षअगाडि नै हात पारेका थिए । स्क्रिप्ट पढ्ने वित्तिकै उनी फिल्म खेल्न राजी भएका थिए ।

धिरज भन्छन्, “यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गरेको हो ।”

धिरजले आफ्नो पात्र पूरै नकारात्मक नभए पनि ग्रे सेडमा रहेको बताए । “यही पात्रको यात्रा नै मलाई मन परेको हो । ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ जस्तो लाग्छ,” उनले भने, “फिल्ममा कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा मेरो पात्र प्रकट हुन्छ । यसले, दर्शकमा कौतुहलता र दुविधा दुवै सिर्जना गर्छ जस्तो मलाई लाग्छ ।”

चलचित्रले पूर्ण रुपमा मनोरञ्जन दिने, क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने उनको दाबी छ । धिरजले, फिल्म हेर्दा दर्शक हाँस्दाहाँस्दै रुनेमा आफू ढुक्क रहेको सुनाए ।

रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको यो चलचित्रमा धिरजको साथमा केदार प्रसाद घिमिरे, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।