‘बलिदान’का वितरकले किन मागे बोर्ड अध्यक्ष डिसीको राजीनामा ?

काठमाडौं । चलचित्र ‘बलिदान’का वितरकले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको राजीनामा मागेका छन् ।

अनधिकृत रुपमा चलचित्रको बक्सअफिस रिपोर्ट लिक गरेको भन्दै चलचित्र ‘बलिदान’का वितरक गोविन्द शाहीले डिसीको राजीनामा मागेका हुन् ।

चलचित्रको कलेक्सनको फेक डाटा लिक गरेको भन्दै शाहीले डिसीले बोर्डबाट राजीनामा दिनुपर्ने बताए ।

‘बलिदान’ले पहिलो दिन एक करोड ७ साथ लाख रुपैयाँ कलेक्सन गरेको वितरक शाहीले बताए । तर, बोर्डले ५७ लाख ग्रसकलेक्सन गरेको बताएपछि ‘बलिदान’को निर्माणपक्ष डिसीसँग रुष्ट बनेको हो ।

“हामी हरेक दिनको कलेक्सन रिपोर्ट एक साता पुगेपछि सार्वजनिक गर्नेछौँ । यदि, बोर्डले सार्वजनिक गरेको डाटासँग मिट भएन भने उहाँले तत्काल राजीनामा दिनुपर्छ,” शाहीले भने, “बोर्डमा उहाँलाई सिनेमालाई विकासको बाटोमा दौडाउन पठाएको हो, विनास गराउन हैन ।”

बिहान साढे ५ बजेदेखि राति साढे ११ बजेसम्म शो रहेको तर साँझ ८ बजे नै रिपोर्ट आएको भन्दै उनले गलत रिपोर्ट दिएर भ्रम सिर्जना नगर्न चेतावनी दिएका छन् ।

चलचित्र ‘बलिदान’ फूलपातीको दिनदेखि प्रदर्शन भइरहेको छ । एक्सन ड्रामा ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् ।

समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।