गतवर्षको तिहारमा ‘पूर्ण बहादुरको सारङ्गी’ एक्लैले ५० करोड कमाएको थियो, यसवर्षको तिहार कस्तो होला ?
काठमाडौं । यो वर्षको तिहार पनि उस्तै हुने भएको छ, जस्तो दशैँ भयो । अथवा दशैँमा जस्तै तिहारमा पनि चलचित्रहरूबीच चर्को प्रतिस्पर्धा हुने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै तीनवटा चलचित्र लिलिज हुने भएका छन् । रिलिज भइसकेको ‘जेरी अन टप’लाई पनि तिहारको अवसरमा रिलिज भएको चलचित्र मान्ने हो भने चारवटा नेपाली चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।
दुईवटा चलचित्र भाइटीकाका दिन कात्तिक ६ गते रिलिज हुने भएका छन् । त्यसको एक दिनपछि कात्तिक ७ गते अर्को एउटा चलचित्र रिलिज हुनेछ ।
‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ तिहारमा आमनेसामने हुँदैछन् । ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ ६ गते ‘मैझारो’ गते रिलिज हुनेछन् ।
दशैँमा जस्तै तिहारमा पनि चलचित्रलाई शो पाउन हम्मेहम्मे पर्ने भएको छ ।
यी चलचित्रले कस्तो व्यापार गर्छन्, बक्सअफिसमा हेर्न बाँकी छ । ‘वरिष्ठ बलराम’ले प्रचारमा राम्रै मेहनत सुरुदेखि नै राम्रैसँग गर्दै आएको छ । अन्तिम समयमा आएर ‘मैझारो’ले मोफसललाई लक्षित गरेर प्रचार गरिरहेको छ ।
‘सोल्टिनी’ त्यति धेरै आक्रामक प्रचारमा देखिएको छैन । सायद तिहारको बिदामा यसै पनि दर्शक सिनेमा हेर्छन् भनेर हो वा बजेट अथवा समय अभावले यी चलचित्रले प्रचारमा खासै धेरै ध्यान दिएनन् ।
गत वर्ष तिहारमा रिलिज भएको एउटै सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै ५० करोडको हाराहारीमा कलेक्सन गरेको थियो ।
सिंगल थिएटरबाहेकबाट नै करिब ४७ करोड रुपैयाँ उठाएको थियो । जुन नेपाली चलचित्र उद्योगको इतिहासकै सर्वाधिक धेरै कलेक्सन गर्ने चलचित्र पनि बनेको थियो । यो नेपाली बजारको बक्सअफिस कलेक्सन मात्रै थियो ।
यस वर्ष तिहारमा आएका चलचित्रले कति कलेक्सन गर्लान् भन्ने जिज्ञासाको विषय बनेको छ । दसैँमा रिलिज भएका चलचित्रले खासै राम्रो कलेक्सन नगरेको अवस्थामा तिहार चलचित्रका लागि कस्तो हुनेछ भन्ने जिज्ञासाको विषय बनेको छ ।
‘वरिष्ठ बलराम’
‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशन बनेको चलचित्र हो । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी मुख्य भूमिकामा छन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
‘सोल्टिनी’
चलचित्र ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।
चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूले अभिनय रहेको छ ।
यस चलचित्रको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरान महानगरपालिकामा मेयर हर्क साम्पाङ रहेका छन् ।
‘मैझारो’
चलचित्र ‘मैझारो’ कलाकार विल्सन विक्रम राईको निर्देशनमा तयार भएको चलचित्र हो । निर्देशक राई स्वयंकले सिनेमाको कथा लेखेका छन् । यो भने भाइटीकाको भोलिपल्ट कात्तिक ७ गते रिलिज हुनेछ ।
‘मैझारो’मा धीरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङलगायतको अभिनय छ । फिल्ममा दयाहाङ राई विशेष भूमिकामा छन् । यो चलचित्रमा डिबी राई र सरिना लामा निर्माताको रुपमा रहेका छन् ।



