‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा आउने, बालेनको युट्युबबाट शनिबार गीत रिलिज

काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्रले रिलिज डेट लिएको हो । अहिले यो चलचित्र इडिटिङको टेबलमा छ ।

चलचित्रको ‘फसायो लमीले’ बोलको गीत शनिबार बिहान रिलिज हुँदैछ । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, संगीत संयोजन रमेश परियारले गरेका छन् ।

गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामालगायत कलाकारको नृत्य देखिनेछ । अधिकारी र लामाको अतिथि भूमिका रहेको छ ।

गीत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुनेछ ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको चलचित्रका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् । चलचित्रलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लक्षणा राईलगायतको अभिनय रहेको छ ।

यही चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ ।

निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको छ ।