दुई वर्षपछि स्टेज प्रस्तुतीमा प्रकाश सपूत

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत करिब दुई वर्षपछि स्टेज शोमा फर्किएका छन् । दाङ र कपिलवस्तुमा गत शनिवार र सोमबार गरेका प्रस्तुतीसँगै उनले पुनः लाइभ कार्यक्रमको यात्रा सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय तथा घरेलु स्टेज कार्यक्रमहरूमा केही समयदेखि देखिन छाडेका सपूत पछिल्ला वर्षहरूमा फिल्म क्षेत्रमा व्यस्त थिए । ‘परदेशी २’, ‘पूर्णबहादुरको सारंगी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘सोल्टिनी’ लगायतका चलचित्रमा उनले अभिनय गरे । यस्तै, ‘वसन्त’ फिल्ममा उनी अभिनयसहित निर्देशनमा पनि सक्रिय भए । उनका नयाँ चलचित्र ‘मिरमिरे’ र ‘परालको आगो’ पनि प्रदर्शनको तयारीमा छन् ।

स्टेजमा फर्किएपछि अब सपूतको व्यस्तता झनै बढ्ने देखिएको छ । भोलि सुनवल महोत्सवमा प्रस्तुति दिने उनले त्यसपछि कपिलवस्तु महोत्सव र सुदूरपश्चिम महोत्सवमा समेत आफ्नो कला पस्किने छन् ।

स्टेज कार्यक्रममा फर्किएको घोषणा गरेका सपूतले केही दिनअघि सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस शेयर गर्दै दुई वर्षको दूरीबारे आफ्नो अनुभूति व्यक्त गरेका थिए ।

सपूतले लेखेका थिए, ‘ओहो, दुई वर्ष भएछ । दुई हिउँद यसै बितेछ । तपाईंहरूलाई निकै सम्झिएँ । देशका सहर–गाउँ, यात्रा, त्यहाँ भेटिएका चिया–नास्तादेखि लिएर गीतमा सँगै रोएको–हँसेको सबै सम्झिएँ । अब सम्झिँदै बस्नु भन्दा यसै वर्ष तपाईंहरूलाई भेट्न आउने निधो गरेँ ।’