जिग्री, काकु र पाँडे निर्देशनमा को पास को फेल भए ? अब परीक्षाको तराजुमा बल्छी धुर्वे
काठमाडौं । हास्य टेलिश्रृंखलाबाट लगातार सिनेमा निर्देशनमा आउने कलाकारको क्रम जारी छ । गत वर्षदेखि यता नै एउटै टेलिचलचित्रका कलाकारले लगातार एकपछि अर्का चलचित्र निर्देशन गरिरहेका छन् ।
‘सक्किगोनि’का कलाकार कुमार कट्टले (जिग्री’ले गत वर्ष ‘लाज शरणम्’ निर्देशन गरे । त्यसपछि केही समय सोही सिनेमाका कलाकार दीपक आचार्य (काकु)ले ‘परान’ निर्देशन गरे । अहिले ‘सक्किगोनि’कै अर्का कलाकार अर्जुन घिमिरे (पाँडे)ले ‘झरिपछिको इन्द्रेणी’ निर्देशन गरे ।
जिग्री’ले निर्देशन गरेको ‘लाज शरणम्’ले बक्सअफिसमा पाँच करोडको आँकडा कटायो । काकुले निर्देशन गरेको ‘परान’ त ब्लकबस्टर नै बन्यो । यसले १७ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ ।
सबैभन्दा पछि रिलिजमा आयो पाँडेको निर्देशन रहेको ‘झरिपछिको इन्द्रेणी’ यो सिनेमाले शो नपाएको भन्दै यसका निर्देशकले असन्तुष्टि जनाइरहेका छन् । उसको कलेक्सन निकै न्यून रहेको निर्देशक पाँडेको असन्तुष्टिले प्रष्ट पार्छ । उनले ३० लाख पनि नपुगेको बताएका छन् ।
हास्य टेलिचलचित्रबाट आएका यी कलाकारका सिनेमा कुनले कस्तो समीक्षा पाए त्यो सबैलाई थाहा छ । बक्सअफिसमा कुनले कति कमायो त्यो पनि छर्लङ्ग नै छ । त्यसैले यी तीन अथवा जिग्री, काकु र पाँडे मध्ये को कति सफल रहे यहाँ यो सफल र असफल भनिरहनै परेन । को प्रथम, को द्वितिय र को त्रितिय भनेर पनि उल्लेख गर्नु परेन । किनकी को पास भयो र को अनुतीर्ण सबैले थाहा पाइसकेका छन् ।
अब, हास्य टेलिचित्रबाट आएर कथानक चलचित्र निर्देशन गरिरहेका अर्का कलाकार हुन्, मरिचमान श्रेष्ठ (धुर्वे) । उनको चलचित्र ‘गोबर गणेश’ अहिले पोष्ट प्रोडक्सनमा छ । यो सिनेमा उनले कस्तो बनाइरहेका छन्, अहिले प्रतिक्षाको विषय बनेको छ ।
हास्य कलाकारले बनाएका सिनेमाले फरक–फरक रिजल्ट दिइरहेका बेला बल्छी धुर्वेको सिनेमा कस्तो हुनेछ भनेर चासोका साथ हेरिएको छ । उनी कथानक चलचित्रको तराजुमा कति गहकिलो सावित हुनेछन् वा फिचर फिल्मको परीक्षामा अनुर्तीण हुनेछन् हर्ने बाँकी छ ।
बल्छि धुर्वेको सिनेमा ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । यसमा बल्छी स्वयंसँगै वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।



