Aktor
Close Me

पोस्टर सार्वजनिक गर्दै प्रकाश सपूत लेख्छन्- ‘वसन्त’ले मबाट धेरै कुरा खोसेको छ

काठमाडौं । चर्चित गायक, अभिनेता, र अहिले निर्देशकको भूमिकामा रहेका प्रकाश सपूतले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् ।

पोस्टरमा देखिएको प्रकाश सपूतको पात्र अध्ययनशील र विचारशील देखिन्छ । पछाडि लक्ष्मीप्रसाद देवकोटा र पारिजातका भित्ते तस्बिरले सिनेमा साहित्यिक र सांस्कृतिक पृष्ठभूमिको संकेत गर्दछ ।

‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत रहेको छ । पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको चुनौतीपूर्ण यात्राका अनुभवहरू उल्लेख गरेका छन् ।

सपूतले फेसबुकमा लेखेका छन् ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको र यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् । साथै, यो सिनेमा निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको र देश-विदेशका कार्यक्रममा सहभागिता पनि नजनाएको उल्लेख गरेका छन् ।

“मैले ‘वसन्त’ मा मभित्रका सबै रङ्गहरू पोखेको छु । ‘यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ । यसो भनौ, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति ।’ सपूत लेख्छन्, “मलाई विश्वास छ, ‘वसन्त’ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ ।”

चैत २२ मा प्रदर्शन हुने यो चलचित्रमा सपूतका साथ अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायतका कलाकारको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मका कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन्।

गायनबाट अभिनयमा आएका प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी २’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि कीर्तिमानी व्यापार गरेको छ । अब, उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’ले पनि यस्तै सफलता हात पार्ने अपेक्षा गरिएको छ ।