चलचित्र ‘डोरी’को पोस्टरसँगै प्रर्दशन मिति घोषणा

काठमाडौं । चलचित्र ‘डोरी’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै यो सिनेमा चैत्र १५ गतेदेखि देशभरका हलहरुमा प्रदर्शन गरिने घोषणा गरिएको छ ।

विजय बस्यालले डिजाइन गरेको यो पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिएको छ ।

अरुण लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरमा प्रस्तुत पात्रहरूको हाउभाउले कथामा रहेको सङ्घर्ष, रहस्य र गहन भावनाको संकेत गरेको छ ।

विशेष गरी, अभिनेता वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले चलचित्रको द्वन्द्व र चरित्रहरूको गहिराइलाई थप बल दिएको छ ।

यो चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, र वीरेन्द्र सिंह कुशवाहाका साथै अन्य थुप्रै कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले भूमिका निर्वाह गरेका छन् । ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, रङ्ग संयोजक रेनीश फागो लगायतका प्राविधिक टोलीले काम गरेका छन् ।

निर्देशक अरुण लामाले चलचित्रले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउने विश्वास व्यक्त गरेका छन् । पोस्टर सार्वजनिक भएपछि दर्शकमाझ चलचित्रप्रतिको चासो थपिएको देखिन्छ ।