यस्तो छ चलचित्र ‘डोरी’को ‘चुच्चे ढुङ्गो उही टुङ्गो’

काठमाडौं । अरुण लामाको लेखन तथा निर्देशनमा निर्माण भएकको चलचित्र ‘डोरी’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत्र १५ गते रिलिज हुने सिनेमाको सोमबार वसन्त पञ्चमीको अवसर पारेर ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ बोलको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । सुनी थापाले सहायक स्वर दिएको गीतमा राजनराज स्वयंको शब्द तथा संगीत, राजन ईशानको संगीत संयोजन छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ । यस गीतको छायाकंन सौरभ लामाले गरेका हुन् ।

ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको सार्वजनिक गीतमा आर्यन र अञ्जनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । अञ्जना ‘डोरी’की मुख्य अभिनेत्री हुन् भने आर्यन यो गीतमा मात्र देखिनेछन् । यसअघि यी दुईले चलचित्र ‘पुजार सार्की’मा सँगै अभिनय गरेका थिए ।

बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्ने जनाइएको ‘डोरी’मा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, राज पौडेल, कविता आले, नूतन, राज थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा वीरेन्द्र सिंह कुशवाहाको विशेष अभिनय रहेको छ ।

दिनेश भट्टराई निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता राज थापा हुन् ।

चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो छन् ।