‘बलिदान’मा सौगातबारे सन्तोष किन मौन ? बेवास्था हो कि लुकाएको ? बन्यो खोजीको विषय

काठमाडौं । सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’को छायांकन सकिएको छ । एक्सनप्रधान यो सिनेमाको मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अन्तिम दृश्य खिचिएसँगै छायांकन सकिएको हो ।
निर्देशक सेनले पहिलो र दोस्रो चरण गरी चलचित्रको सबै छायांकन चार महिनामा टुंगिएको बताएका छन् । चलचित्रको छायांकन सक्दै उनले सिनेमा राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताएका छन् । कथा, कलाकार, प्राविधिक पक्षलगायत कुनै पनि विधामा आफूले कतै सम्झौता नगरेको बताएका छन् ।
निर्देशक सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकनको चरण पार गरेको बताएका छन् । उनले ‘बलिदान’लाई ‘महान चलचित्र’ बनाउने भन्दै चार दर्जनभन्दा धेरै तस्बिर पनि पोस्ट गरेका छन् । केही भिडियो पनि पोस्ट गरेका छन् ।
जहाँ सिनेमाका मुख्य कलाकार समीर भट्ट र ऋचा शर्मा पनि छन् । धेरैजसो प्राविधिक छन् । सन्तोष दैनिकजस्तै फेसबुकमा लामालामा टेक्स्ट, तस्बिर र भिडियो पोस्ट गरिरहन्छन् । कतिपय टेक्स्टमा समाचारका लागि सूचना पनि हुन्छ ।
हरेकदिन जस्तै हुने पोस्टमा समीरको तस्बिर र उनको तारिफ छुट्दैन । तर, सौगात मल्ल न उनले सार्वजनिक गर्ने तस्बिरमा हुन्छन् न टेक्स्टमा हुन्छन् । समीर मात्रै हुन्छन् । उनका तस्बिर मात्रै हुन्छन् ।
सन्तोषका अनुसार सौगात पनि ‘बलिदान’का हिरो हुन् । मुख्य पात्र हुन् । तर, सौगातबारे किन सन्तोष मौन छन् । सौगातलाई उनले लुकाएका हुन् कि बेवास्था गरेका हुन् ? यो प्रष्ट छैन । सन्तोषले यसबारे केही बोलेका छैनन् ।
समीर अभिनीत चलचित्र ‘१२ गाउँ’लाई पनि सन्तोषले साथ दिएका थिए । खुलेरै यसको प्रचार गरेका थिए । सँगै रिलिज भएको चलचित्र ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्मातालाई भिडियोमै आएर केही आरोप लगाउँदै आलोचना समेत गरेका थिए । त्यसपछि सन्तोष, समीर र विराज भट्टको बन्डिङ थप बलियो बनेको छ ।
सन्तोष प्रायः आफ्नो चलचित्रका कलाकारलाई लुकाउने निर्देशक र निर्माता होइनन् । सार्वजनिक गरेर पब्लिसिटी गर्ने व्यक्ति हुन् । त्यसैले सौगातबारे किन सन्तोष मौन छन्, यो भने आफैँमा जिज्ञासाको विषय बनेको छ ।
चलचित्र ‘बलिदान’को प्रमुख भूमिकामा समीर भट्टको प्रमुख भूमिका छ । सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा, कविता रायलगायत कलाकारको पनि अभिनय छ ।
आसुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको चलचित्रमा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सह–निर्माता छन् ।