भुटानी शरणार्थीको कथा नेपाली दर्शकसँग कसरी कनेक्ट होला ?

काठमाडौं । वैशाख १२ बाट रिलिज हुने चलचित्र ‘भूठान’लाई यो वर्षकै आर्टिस्टिक चलचित्रमध्ये राम्रो भएको हुनेसक्ने अपेक्षा गरिएको छ । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले निर्देशन गरेको र हरिवंश आचार्यलगायतका कलाकार रहेकाले यो चलचित्र राम्रो भएको धेरैको अपेक्षा छ ।

चलचित्र ‘भूठान’ भुटानदेखि भारत, नेपाल हुँदै अमेरिका पुगेका भुटानी समुदायको कथा भएको निर्माण पक्षले बताएको छ । भुटानी शरर्णार्थीको संघर्ष, देशप्रेम र आफ्ना जरा खोज्ने यात्राको भावपूर्ण कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा भएको छ ।

चलचित्रबाट दर्शकले ठूलो अपेक्षा गरेका छन् । त्यसैले यो चलचित्रले राम्रो वर्ड अफ माउथ पाउन निकै राम्रो हुनै पर्नेछ । पहिलो चलचित्रबाट निर्देशक पौडेलले राम्रो प्रतिक्रिया पाएकाले आफूलाई प्रमाणित गर्न पनि यो चलचित्र राम्रो हुनैपर्छ ।

भुटानी शरणार्थी नेपाल हुँदै अमेरिका पुगेको कथा भएकाले यो चलचित्रको कथा आम नेपाली समुदायसँग कसरी कनेक्ट हुन्छ ? आम दर्शकले यसमा आफूलाई कहाँनेर भेट्टाउँछन् ? भुटानी समुदायको संघर्ष, दुःख र उपलब्धी कहाँनेर आफूसँग आम नेपाली दर्शकले कनेक्ट गर्छन् ? यदि सिनेमाभित्र आफूलाई दर्शकले पाए भने अथवा चलचित्रका क्यारेक्टर आफैलाई पाए भने चलचित्र चल्ने सम्भावना उच्च रहनेछ । तर, चलचित्रका पात्रको दुःख र संघर्षभित्र आफूलाई भेट्टाउन सकेनन् भने दर्शकले ‘भूठान’लाई साथ नदिन सक्छन् ।

भुटानी समुदायको कथा, अमेरिकामा छायांकन भएको र पात्रले बोल्ने संवाद पनि आदाउदी अंग्रेजी भाषामा छ भने नेपाली दर्शकलाई होल्ड गर्न त्यति सहज छैन । तर पनि राम्रो चलचित्रले यी चुनौतीहरूलाई सहजै चिर्न सक्ने भएकाले चलचित्रमा नै यसको बजार निर्धारण गर्नेछ ।

करिव ६ करोड लगानी रहेको बताइएको चलचित्रको लगानी उठाउन १८ करोडभन्दा माथिको कलेक्सन गर्नुपर्नेछ । नेपाली बक्सअफिसमा यो रकम कलेक्सन गर्न त्यति सहज भने छैन ।

जिन्दगीका फरकफरक भूमिकाको व्याख्या गर्दै आयो ‘भूठान’को मोसन पोस्टर

केही दिन अगाडि ‘भूठान’को मोसन पोस्टर सार्वजनिक भएको थियो । जसमा एउटा जिन्दगीका फरकफरक आयाम समेटिएको थियो । कसरी एउटै मान्छे समय र उमेरअनुसार फरकफरक भूमिका निभाइरहेको हुन्छ भन्ने देखाएको थियो ।

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल र टम क्रेनले मुख्य भूमिका निर्वाह गरेका छन् । यसमा हलिउडका प्रसिद्ध अभिनेता ब्रुस डर्नले विशेष भूमिका रहेको छ ।

ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको चलचित्रका प्रमुख निर्माता राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा हुन् ।

यस सिनेमाको सह–निर्माताहरूमा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन् ।

चलचित्रका प्राविधिक टोलीमा छायांकन सुसन प्रजापतिको, सम्पादन अन्जय खड्काको, ध्वनि डिकेश खड्गी शाहीको, कास्टिङ्ग सुर्य शाहीको र पब्लिसिटी डिजाइन उज्जवल श्रेष्ठको रहेको छ ।

निर्माताहरूका अनुसार ‘भूठान’ हरिवंश आचार्यको जीवनको सबैभन्दा उत्कृष्ट चलचित्र बन्नेछ । यो चलचित्रलाई बलिउड र हलिउडकै वितरकको सहकार्यमा विश्वभर एकसाथ प्रदर्शन गर्न प्रयास भइरहेको छ । नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यस चलचित्रको वितरण गर्ने भएको छ ।

निर्देशक विनोद पौडेलले यसअघि सन् २०१९ मा बुलबुल निर्देशन गरेर नेपाललाई ९२औं अस्कर अवार्डको मनोनयनसम्म पु¥याएका थिए । नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका पौडेलको दोस्रो चलचित्र हो ।