‘वसन्त’को पब्लिसिटी टुल मानिएका गीत चलेनन्, खडेरी लागेको बक्सअफिस उकास्ला ?

काठमाडौं । शिवरात्रिको अवसर पारेर रिलिज भएका तीनवटा नेपाली चलचित्र सोचेजस्तो सफल भएनन् । ‘मायावी’, ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’ तीनवटै चलचित्रले राम्रो व्यापार गरेनन् ।
अब ठूलै ट्विस्ट नभए यी चलचित्रले ठूलो संख्यामा दर्शक तान्न सक्ने देखिँदैन । यद्यपि, सम्भावनालाई नकार्न भने सकिँदैन । सुरुका दिनमा नचलेर विस्तारै पिकअप लिउका चलचित्र पनि छन् ।
राम्रो ब्रान्ड रहेको र ठूलो ब्यानरले बनाएको चलचित्र ‘फेरि रेशम फिलिली’ले पनि दर्शकलाई हलसम्म डोर्याउन सकेन । ‘सक्किगोनि’ टिमले बनाएको र लोभलाग्दो हाइप बनाएको सिनेमा ‘लाज शरणम्’ले पनि दर्शकलाई सिनेमा हलसम्म तान्न सकेन । भलै यो सिनेमाले मध्यस्तरमा चलिरहेको छ ।
अब यसपछि मासमा चल्छ भनेर धेरैले अड्कलबाजी गरेको सिनेमा ‘वसन्त’ हो । यो प्रकाश सपूतको डेब्यु निर्देशन हो । कथा पनि उनी स्वयंले लेखेका छन् । हिरो पनि उनी नै हुन् । संगीत पनि प्रकाश आफैँले गरिरहेका छन् ।
यो चलचित्र कस्तो हुनेछ भन्नेमा धेरैको चासो छ । यो सिनेमाको दुईवटा पोस्टर टिजर र दुईवटा गीत पनि आइसकेका छन् । प्रकाश स्वयं र उनका भाइ बब्लुले ‘वसन्त’को गीत गाइसकेका छन् ।
तर, यी दुईवटै गीत गुमनाम जस्तै छन् । टिजर आएको त धेरैले थाहै पाएनन् । पोस्टरको अवस्था पनि त्यस्तै रह्यो ।
सिनेमाको रिलिज मिति नजिकिँदै गए पनि पब्लिसिटी कन्टेन भने हालसम्म बलियो आएका छैनन् । प्रभावकारी पब्लिसिटी कन्टेन आएका छैनन् । पब्लिसिटी कमजोर भइरहेका बेला प्रकाश भने अरूका ब्यानरका चलचित्रमा काम गरिरहेका छन् । आफ्नो सिनेमाको पब्लिसिटी कसरी बलियो ल्याउनेभन्दा पनि अरुकै सिनेमामा काम गरिरहेका छन् ।
पब्लिसिटी जस्तै सिनेमा कमजोर भयो भने फागुन १४ नै दोहोरिन बेर छैन । अर्थात् अपेक्षा गरिएको सिनेमाबाट अनपेक्षित असफलता ।
त्यसैले आशा र भरोसा गरेको चलचित्र बलियो बनाउनतर्फ अहिले नै ‘वसन्त’ निर्माण टिम लाग्नुपर्नेछ । अन्यथा ओरालो लागेको सिनेमाको बजार ‘वसन्त’ले फर्काउन सक्ने छैन ।
पछिल्लो समय सिनेमाको पब्लिसिटीको सबैभन्दा बलियो र भरपर्दो कन्टेन ट्रेलरभन्दा पनि गीत हुने गरेको छ । प्रकाश सपूतले नै बनाएको ‘बोक्सीको घर’को गीत हिट भएको थियो । यसले ‘बोक्सीको घर’को हाइप नै बढाइदिएको थियो । यही गीतले गर्दा यो सिनेमा चल्यो भन्ने धेरै छन् ।
अरुको चलचित्रका लागि प्रकाशले बनाइदिएको गीत हिट भए पनि उनको आफ्नै सिनेमाका लागि भने अहिलेसम्म चल्ने गीत आउन सकेको छैन ।
‘वसन्त’ आगामी चैत २२ गते चैते दशैंको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदै छ । सिनेमामा प्रकाश सपूत र स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।