प्रधानमन्त्री ओलीको प्रशंसापछि प्रकाश सपूत आलोचनाको घेरामा

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत सामाजिक सञ्जालमा विवादमा तानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेको भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् ।
सपूतले सोमबार सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीको जीवनी ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण समारोहमा मन्तव्य दिएका थिए ।
सोही क्रममा सपूतले प्रधानमन्त्री ओलीको संघर्ष र व्यक्तित्वको खुलेर प्रशंसा गर्नुका साथै आत्मविश्वास, ऊर्जा र उमेरभन्दा बढी युवा सोच रहेको बताएका थिए ।
“अरु कुराहरू छाडौँ । उहाँको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका, कार्यकारी भएर देश चलाइरहनुभएको भूमिकालाई छाडेर व्यक्तिगत रूपमा उहाँलाई हेर्ने हो भने पनि प्रेरणादायी लाग्छ । निराश भएर, गाउँमा जन्मिएको भनेर, बा-आमालाई गरिब देखाएर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि उहाँको जीवन प्रेरणादायी छ,” उनले भनेका थिए ।
सपूतका यी भनाइहरू सामाजिक सञ्जालमा भाइरल भएपछि कतिपयले नकारात्मक प्रतिक्रिया जनाएका छन् ।
उनको मन्तव्यका क्लिपहरू टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतमा तीव्र रूपमा शेयर भइरहेका छन् । केही प्रयोगकर्ताले सपूतलाई ‘राजनीतिक पक्षधरता देखाएको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले उनको भनाइलाई ‘स्वतन्त्र अभिव्यक्ति’का रूपमा समर्थन पनि गरेका छन् । उनलाई एमालेको कार्यकर्ता तथा ‘झोले’ भन्दै गाली गरिरहेका छन् ।
एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, “अब प्रकाश सपूत कलाकार होइन, नेताको प्रचारक भइसके ।” अर्काले भनेका छन्, “उनको फिल्म नै बहिष्कार गरौं ।” आगामी चैत २२ गते रिलिज हुन लागेको प्रकाशको डेब्यु निर्देशन ‘बसन्त’ लाई पनि केहीले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
तर, केहीले प्रकाशको बचाउ गर्दै नेपाली समाजमा कुनै पनि व्यक्तिको प्रशंसा वा आलोचना गर्न पाउनु स्वाभाविक रहेको बताएका छन् । उनीहरूका अनुसार कलाकारले आफ्ना विचार राख्दैमा उनको पेशागत यात्रामा असर पार्नु उचित होइन ।
सोही कार्यक्रममा अभिनेत्री केकी अधिकारीले पनि प्रधानमन्त्री ओलीको प्रशंसा गरेकी थिइन् । जसपछि उनीमाथि पनि केही आलोचना आएका छन् ।