‘आउट ल’ले एक्सन सिनेमामा नयाँ बेन्चमार्क राख्ने निर्देशक र निर्माताको दाबी

काठमाडौं । चलचित्र ‘आउट लः दफा २१९’ फागुपूर्णिमाको अवसरमा फागुण २९ गतेदेखि रिलिज हुँदैछ । निर्देशक विक्की महर्जन र निर्माता अमित अग्रहरिको टिमले दुई वर्ष लामो मिहिनेतपछि तयार पारेको यो सिनेमा एक्सन, ड्रामा, कमेडी, थ्रिलरको मिश्रण हो ।

‘आउट लः दफा २१९’ले नेपाली चलचित्र उद्योगमा एक्सन सिनेमामा नयाँ वेन्चमार्क स्थापित गर्ने अपेक्षा निर्माणपक्षले गरेको छ ।

यो चलचित्रको कथा बदला र न्यायको वरिपरि घुम्ने काल्पनिक ग्याङस्टर कथामा आधारित छ । नायक सुशील श्रेष्ठको अभिनय र सिनेमाको प्रस्तुति दर्शकका लागि ठूलो आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

निर्देशक महर्जन ‘आउट लः दफा २१९’ निर्माण गर्न दुई वर्ष लागेको बताउँछन् । “हाम्रो सम्पूर्ण टिमले निकै मेहनत गरेको छ । यो चलचित्रमा केवल एक्सन मात्र छैन, यसले नेपालको महत्वपूर्ण विषयलाई उठान गरेको छ । सिनेमामा एक्सन, ड्रामा, कमेडी, थ्रिलर सबै छ । दर्शकलाई यस पटक धेरै सरप्राइज हुनेवाला छ,” निर्देशक महर्जन भन्छन् ।

उनले चलचित्रको कथा कुनै वास्तविक घटनामा आधारित नरहेको बताए । “यो एक काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो, तर बदला र न्यायको कथा पनि हो । कथावस्तु निकै गहिरो छ,” उनले थपे ।

चलचित्रका निर्माता अमित अग्रहरिले ‘आउटलः दफा २१९’ निर्माण गर्नुको मुख्य कारण नेपालमा नयाँ भिजनसहितको एक्सन फिल्म ल्याउनु रहेको बताए । “हामीले यस्तो विषयवस्तु प्रस्तुत गरेका छौं, जुन नेपाली चलचित्रमा देखिएको थिएन । एक्सनको हिसाबले यो सिनेमाले नयाँ बेन्चमार्क राख्छ भन्ने लाग्छ । मैले पैसा सोचेर चलचित्र बनाएको होइन, नयाँ सोच र भिजनका कारण लगानी गरेको हुँ,” अग्रहरिले भने ।

उनका अनुसार नेपालमा पछिल्लो समय बनेका सिनेमाभन्दा यो विल्कुलै फरक छ । “हामीले अघिसम्म एक्सन चलचित्र त देख्यौं, तर त्यस्तो अनुभव भएन । ‘आउटलः दफा २१९’ले त्यो अनुभूति गराउनेछ । दर्शकको राम्रो प्रतिक्रिया नै हाम्रो सफलता हो । यो सिनेमाले अर्को चलचित्र बनाउन पर्याप्त पैसा उठाए पनि म खुशी हुनेछु,” उनले थपे ।

चलचित्र ‘आउटलः दफा २१९’को मेकिङ, प्रस्तुति, एक्सन दृश्यहरू, र कलाकारहरूको अभिनयले दर्शकमाझ उत्सुकता बढाएको छ । विशेषगरी, नायक सुशील श्रेष्ठको नयाँ अवतारले सबैलाई सरप्राइज दिएको छ । उनको भूमिकाले एक्सन प्रेमी दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

यसैले, बक्स अफिसमा ‘आउटलः दफा २१९’ ले क्स अफिसमा राम्रो कमाइ कमाइ गर्ने र नेपाली एक्सन चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्सन निर्देशन छ ।

सिनेमामा विक्की महर्जन र दिर्घ धामीको पटकथा, नवीन गुरुङको डीओपी छ ।

सिनेमामा सुशील श्रेष्ठसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की, अयान परियारलगायतको अभिनय छ ।