एउटा यस्तो सिनेमा, जसमा हुनेछन् नेपाली सबै कलाकार र बनाउँदैछन् बलिउड निर्देशक/निर्माताले

काठमाडौं । एउटा यस्तो चलचित्र बन्दै छ, जसमा नेपालका अधिकांश कलाकार देखिने भएका छन् । भुवन केसीदेखि राजेश हमालसम्म, अनमोल केसीदेखि प्रदीप खड्कासम्म ।

करिष्मा मानन्धरदेखि रेखा थापासम्म एउटै चलचित्रमा देखिने भएका छन् । अघिल्लो र पछिल्लो पुस्ताका अधिकांश लोकप्रिय कलाकारलाई समेटेर चलचित्र बनाउन लागिएको हो । जसमा अनुप बराल, दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीजस्ता अभिनेताले पनि काम गर्नेछन् ।

रमाइलो कुरा त के छ भने, यो चलचित्रमा निर्देशक पनि बलिउडकै हुनेछन् । निर्माता पनि इन्डियन नै हुनेछन् ।

छाया निर्देशकका रूपमा एक नेपाली निर्देशकलाई प्रस्ताव गरिरहेको स्रोतले बताएको छ । उनीहरूले यस्तो निर्देशक खोजिरहेका छन्, जसले नेपाली कलाकारलाई चलचित्रमा अफर गर्दा कुनै पनि कलाकारले नाईं भन्न नसकोस् । र, काम गर्न पनि सहज होस् ।

नेपाल र भारतमा रिलिज गर्नेगरी चलचित्र निर्माण गर्ने तयारी रहेको छ । नेपाली र हिन्दी भाषामा बन्ने यो चलचित्रको बजेट कम्तीमा १५ करोडको हाराहारीमा रहने स्रोतको भनाइ छ ।

तर, यो चलचित्र कहिले बन्नेछ, निश्चित भइसकेको छैन । बलिउड निर्माताले लगानी गर्ने भएकाले बजेटमा समस्या नदेखिए पनि कलाकारलाई मनाउन र समयका हिसाबले पनि यो कम चुनौतीपूर्ण काम हुने छैन ।