चलचित्र ‘डोरी’को अग्रिम टिकट बिक्री कमजोर, १२० शो पाउँदा ८५ टिकट मात्रै बिक्री !

काठमाडौं । भोलि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’को अग्रिम टिकट बिक्री अपेक्षाकृत कमजोर देखिएको छ ।

नयाँ नेपाली चलचित्रका रूपमा शोलो रिलिजको अवसर पाएको भए पनि यो सिनेमाले अपेक्षाकृत दर्शकको आकर्षण पाउन सकेको छैन ।

‘डोरी’को बुधवारदेखि नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित देशभरका अन्य मल्टिप्लेक्स हलहरूमा अग्रिम बुकिङ खुला गरिएको थियो ।

चलचित्रका वितरक रोहित कट्टेलका अनुसार ‘डोरी’ ले देशभर करिब १२० शो प्राप्त गरेको छ । अधिकांश हलहरूको अनलाइन टिकट बुकिङ हेर्दा अहिलेसम्म जम्मा ८५ वटा मात्र अग्रिम टिकट बिक्री भएको देखिएको छ ।

जो केहीले विभिन्न सिनेमा हलको साइटमा गएर बिक्री भएको टिकट हेर्दा औलामा गणना हुने टिकट बुक भएको देख्न सकिन्छ । जसले यो चलचित्रप्रति दर्शकको रुचि कमजोर रहेको संकेत गर्छ ।

शुक्रबार बिहानदेखि नियमित शो प्राप्त गरेको चलचित्र ‘डोरी’ले ‘डोर सेल’मा कतिको राम्रो साथ पाउँछ, त्यो हेर्न बाँकी छ । ‘डोर सेल’को सहाराले दर्शक तान्न सक्ने सम्भावना रहन्छ । अब चलचित्रले दर्शकहरूको मन जित्न सक्छ वा सक्दैन, यो रिलिजपछिको समीक्षामा निर्भर गर्नेछ ।

प्रारम्भिक टिकट बिक्रीमा चलचित्रले कमजोर सुरुवात गरे पनि ‘डोरी’ ले रिलिजपछि वर्ड अफ माउथ (मौखिक प्रचार) को सहाराले दर्शक तान्न सक्ला? यो भने शुक्रवारपछिको दर्शकबाट मिल्ने प्रतिक्रियाले नै यसको भविष्य निर्धारण गर्नेछ ।

चलचित्र ‘डोरी’लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । बुधवार साँझ यो चलचित्रको सेन्सर गरिएको थियो । अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र यो चलचित्र हेर्न पाउनेछन् ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने अञ्जना बराइली, प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्रको दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।