अभिनेता आकाश श्रेष्ठ भन्छन्- म हराएको होइन, राम्रो स्क्रिप्टको पर्खाइमा छु

काठमाडौं । अभिनेता आकाश श्रेष्ठको पछिल्लो चलचित्र भने ‘हिँड्दा हिँड्दै’ हो, जुन २०८० को भदौमा रिलिज भएको थियो । गतवर्ष उनको अर्को चलचित्र ‘बगान’ पनि प्रदर्शनमा आएको थियो ।
चलचित्रमा देखिन छाडे पनि आकाश म्युजिक भिडियोमा भने निकै व्यस्त देखिन्छन् । पछिल्लो दुई वर्ष यता सिनेमामा नदेखिएपछि उनलाई लिएर विभिन्न चर्चा चलेका छन् । केहीले फिल्म नपाएको कारण उनी हराएको भन्ने टिप्पणी गरेका थिए ।
उनले केही समय अगाडि नयाँ सिनेमाको तयारी हुँदै गरेको बताए पनि साइन गरेको खबर भने आएको छैन । तर, उनले ती सबै अड्कलबाजीको खण्डन गरेका छन् ।
मंगलबार ‘माया के हो’ बोलको गीत सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले आफू नलुकेको स्पष्ट पारे । उनले पछिल्लो समय मिडियामा कम देखिए पनि आफू सक्रिय नै रहेको बताए ।
उनले भने, ‘म हराएको होइन, मिडियामा मात्र देखिएको छैन । २–३ वटा फिल्मको कुरा भइरहेको छ, जुन गत वर्ष फ्लोरमा जानुपर्ने थियो तर विभिन्न कारणले हुन सकेन । अब सम्भवतः सुटिङ सुरु हुन्छ ।’
हाल व्यवसायमा समेत संलग्न रहेका श्रेष्ठले केही समय लिएको भए पनि चलचित्रमा फर्किने तयारी गरिरहेको बताए । ‘म लुकेको होइन, काम गरिरहेको छु । केही फरक खालका काम गरिरहेको छु,’ उनले भने ।
नेपाली चलचित्र क्षेत्रमा अहिले स्टारडमभन्दा पनि विषयवस्तु (कन्टेन्ट) महत्वपूर्ण भएको श्रेष्ठले बताए । ‘पहिले जस्तो स्टारडमले मात्र फिल्म चल्दैन, अहिले दर्शक विषयवस्तु हेर्छन् । तर, राम्रो स्क्रिप्ट कम बन्न थालेको छ । त्यसैले पनि म हतारमा छैन,’ उनले स्पष्ट पारे ।
आफूले अभिनय गरेका चलचित्रले खासै सफलता नपाएपछि आलोचनाको सामना गर्नु परेका अभिनेता श्रेष्ठले कुनै सिनेमामा काम नगरेको देखिए पनि उनले संगीत भिडियोमार्फत कामलाई निरन्तरता दिएको बताए ।
‘अहिले चिनजानका व्यक्तिका भिडियोमा मात्र काम गरिरहेको छु । फिल्मतिर ध्यान जान नपाएको होइन, तर राम्रो स्क्रिप्टको पर्खाइमा छु,’ उनले भने ।
विगतका अनुभवबाट धेरै सिकेको भन्दै उनले अब गहिरो विषय भएका, समाजसँग जोडिएका चलचित्रमा मात्र काम गर्ने चाहना रहेको व्यक्त गरे । उनी भन्छन्, ‘विगतमा भएका गल्तीले सिकायो, अब दोहोरिन दिन्न । सोचेर काम गर्छु ।’
श्रेष्ठको भनाइ अनुसार उनी चलचित्र क्षेत्रबाट टाढा नभएको स्पष्ट भएपनि अब उनका आगामी प्रोजेक्टहरूले नयाँ यात्राको सुरुआत कस्तो हुन्छ भन्ने उत्सुकता थपेको छ ।