चलिसकेको गीतको बुई चढेर खुसी भएको ‘नरसिंहाः अवतार’ टिम

काठमाडौं । नेपाली सिनेमा प्रेमीहरूका लागि दशकौँअगाडि प्रदर्शनमा आएको चलचित्र ‘दैव संजोग’को लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ अझै पनि स्मरणीय छ । शम्भुजित बाँस्कोटाको शब्द र संगीतमा सुदेश शर्मा, शम्भुजीत र देविका बन्दनाको स्वर रहेको यस गीतले नेपाली संगीतमा गहिरो छाप छोडेको थियो ।
यतिबेला यही गीत चलचित्र ‘नरसिंहाः अवतार’मा पुनः रिक्रियट भर्सनमा समावेश गरिएको छ । नयाँ भर्सनमा संगीतकार शम्भुजित बाँस्कोटाकै संगीत, शब्द तथा स्वर रहेको छ भने उनलाई गायिका रचना रिमालले साथ दिएकी छन् । पुरानो संस्करणमा गायिका देविका बन्दनाको स्वर रहेको थियो ।
रिक्रियट भर्सनमा सार्वजनिक भएको गीतले पुरानो भाव र मेलोडीलाई जोगाउने प्रयास गरिएको भए पनि नयाँ भर्सनले श्रोतामाझ पुरानो जस्तो प्रभाव पार्न नसकेको आलोचना भइरहेको छ ।
रिक्रियट गरिएको गीतमा संगीत संयोजनमा केही नयाँ प्रयोग गरिए पनि निर्माण पक्षले मौलिक पक्षलाई कायम राख्ने दाबी गरेको छ । तर, मूल गीतका सर्जक शम्भुजित बाँस्कोटा स्वयंको स्वरले नै दर्शकलाई प्रभाव पार्न सकेन भन्ने प्रतिक्रिया आउन थालेको छ ।
कतिपय श्रोताबाट रचना रिमालको आवाजलाई सराहना गरिएको भए पनि शम्भुजितको आवाजले पुरानै ऊर्जा ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ ।
‘रचना चम्किइन्, शम्भुजित ओझेलमा परे’ श्रोताहरू भन्छन्, ‘मूल संस्करणको सुगन्ध लिए पनि नयाँ स्वर संयोजनले पुरानो जादू पुनः सिर्जना गर्न सकेको छैन ।’ जसमा रचनाको स्वरले गीतमा ताजापन ल्याए पनि शम्भुजितकै स्वरले न्याय दिन नसकेनको उनीहरुले प्रतिक्रिया दिइरहेका छन् ।
यता, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ को रिक्रियट भर्सनले सिनेमाको हाइप त केही हदसम्म बढाएको छ, तर धेरै दर्शकलाई यो गीत चलचित्रसँग सम्बन्धित छ भन्ने नै थाहा छैन । कतिपयले त यो नयाँ म्यूजिक भिडियो मात्रै हो भन्ने भ्रम पाएका छन् ।
सामाजिक सञ्जालमा दर्शकले यसलाई कुनै नयाँ म्यूजिक भिडियोको रूपमा बुझेका छन् । चलचित्रसँग गीतको सम्बन्ध स्पष्ट रूपमा नदेखिएकाले निर्माण पक्षको प्रचार रणनीतिमा कमजोरी देखिएको बताउँछ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी तथा बाल कलाकारहरू एभेलिना खड्का र समाइरा थापाको नृत्य छ ।
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’को निर्माणपक्षले राजेश हमालको ८ वर्षपछिको यो ‘कमब्याक’ चलचित्र भनेर मिडिया कभरेज त लिए, तर प्रचार प्रसारमा अर्का कलाकार राज कटुवाललाई अग्रपंक्तिमा राखेको देखिन्छ ।
दर्शकभित्रको उत्साह नेपाली सिनेमामा ‘नरसिंहाः अवतार’ले हमालको पुनरागमनसँगै नयाँ उचाइ पाउने अपेक्षा छ । तर, पोस्टर होस् वा प्रमोशनल भिडियो, मिडिया अन्तर्वार्ता होस् वा सोसल मिडिया – जहाँ देख्नुपर्ने हमाल, त्यहाँ देखिए कटुवाल ।
एकातर्फ हमालको नाममा सिनेमा बेच्ने प्रयास, अर्कोतर्फ राज कटुवालको अघिल्लो लाइनमा देखिने ट्रेन्डले सिनेमाभित्रको ‘पावरप्ले’को संकेत दिएको छ ।
सामाजिक सञ्जालदेखि प्रचार पोस्टरसम्म, अधिकांश फोकस हमालमा नभई राज कटुवालमा केन्द्रित छ । त्यसकारण कतिपय दर्शकले कतै राज कटुवालको ‘लन्चिङ प्याड’ बनाउने नाममा हमाललाई प्रयोग त गरिएको होइन? भन्ने चिसो अनुभूति गर्न थालेका छन् ।
पछिल्लो समय नेपाली चलचित्र बजारमा ‘नरसिंहाः अवतार’ हमालको कमब्याक सिनेमा भनेर प्रचारप्रसार भएता पनि चलिसकेको गीतको बुई चढेर चलायमान देखिएको छ । तर, यो चर्चाले निर्माण टिमलाई जुन ‘हाइप’ दिलाउने अपेक्षा थियो, त्यो भने अपेक्षाअनुरूप चलेको देखिँदैन । बरु, दर्शकमाझ भ्रमको बादल गहिरिँदै गएको छ ।