पुरानै प्याटर्नबाट होला त राजेशको बबाल कमब्याक ?

काठमाडौं । जेठ ९ गते ‘नरसिंहा अवतार’ रिलिज हुँदा राजेश हमाल ठूलो पर्दामा देखिँदै छन् । सानो पर्दामा बाक्लै देखिँदै आएका राजेश लामो समयपछि पर्दामा देखिन लागेका हुन् ।
‘वाग्मती’ पछि राजेशका चलचित्र आएका छैनन् । यो बीचमा उनले आफैँले चलचित्र निर्देशन गर्ने पनि बताए । फरक धारको चलचित्र बनाउँछु पनि भने । तर, उनले आफैँले पनि चलचित्र बनाएनन् । अरुका चलचित्रमा पनि काम गरेनन् ।
जसका कारण करिब आठ वर्ष भयो राजेश हमालका चलचित्र नआएको । आठ वर्षको अन्तरालपछि राजेश सिनेमा घरमा फर्किंदैछन् ।
तर, उनको योजनाअनुसार होइन । उनले आफैँ निर्देशन गरेर पनि होइन । लगानी गरेर पनि होइन । र, उनले सोचेजस्तो अब्स्ट्रयाक चलचित्रबाट पनि होइन ।
राजेश उनको समयमा जस्ता चलचित्र गर्थे, त्यस्तै चलचित्र मार्फत अथवा मोर कमर्सियल चलचित्रबाटै फेरि ठूलो पर्दामा देखिँदैछन् ।
‘नरसिंहा अवतार’ मोर कमर्सियल चलचित्र हो । जसमा चार÷पाँचवटा गीत छन् । फाइट छ । लभ, रोमान्स, एक्सन सबै भएको चलचित्रमा उनी देखिँदैछन् ।
‘नरसिंहा अवतार’को अहिलेसम्मका कन्टेनले यस्तै देखाएको छ । टिजर, ट्रेलर, गीत र कास्टिङले बलिउड फर्मुलाकै सिनमा भएको प्रष्ट पारिसकेको छ ।
राजेश आफूले गरिरहेका भन्दा फरक खालका चलचित्रबाट रि–इन्ट्रि गर्न चाहन्थे । तर, अवस्था त्यस्तो बनेन । दिवाकर भट्टराईले कमर्सियल सिनेमाका लागि अफर गरे । उनले मान्दिए । दिवाकरको आग्रहलाई नकार्न नसक्दा उनको योजना सफल भएन ।
पुरानै ढर्राको सिनेमाबाट फेरि पर्दामा उत्रिने भएका छन् । पुरानै गीतमा उनको डान्स र टिजर/ट्रेलर देखिएको छ । पुरानै शैली र स्वरुपमा प्रहरी उच्च अफिसरको भूमिकामा देखिँदैछन् ।
पुरानै प्याटर्नबाट फर्किँदा राजेशको कमब्याक चाहिँ खास हुन्छ कि हुँदैन, त्यो जेठ ९ मै थाहा हो । राजेशको रि–इन्ट्रि सोचेजस्तै बबाल होस्, शुभकामना !