दिनेश राउतलाई प्रश्न– रवि लामिछाने जोडिएका सहकारीको कथामा बनेको सिनेमा हो ‘महाभोज’ ?

दिनेश राउत प्रायः सामाजिक कथा सिनेमामार्फत भन्दै आएका निर्देशक हुन् । यथार्थको नजिक रहेर समाजका कथा भन्दै आएका छन् । उनको चलचित्र ‘प्रकाश’, ‘पुजार सार्की’ हेरे पनि यसलाई पुष्टि गर्छ । यही जेठ १५ गतेबाट उनको चलचित्र ‘महाभोज’ प्रदर्शनमा आउँदैछ । मल्टिस्टारहरूलाई लिएर निर्माण गरेको चलचित्रले सरकारी ठगीको कथा भन्दैछ । पछिल्लो समय कसरी सहकारीमा बचत गरेको आम नागरिकको पैसामाथि सञ्चालक र पहुँचवालाले रजगज गरिरहेका छन् भन्ने यथार्थलाई ‘महाभोज’ले देखाउने निर्देशक राउतले बताएका छन् । उनै निर्देशक राउतसँग गरिएको कुराकानीको सम्पादित अंश ।
– ‘महाभोज’को ट्रेलरले सबै सस्पेन्स नै खोलिदियो, अब दर्शकले हलमा गएर के हेर्ने ?
के सस्सपेन्स खोलिदियो, के थाहा पाउनु भयो तपाईंले, तपाईंले थाहा पाएको नहुन पनि सक्छ हैन र ?
अब पालो सत्यसँग आँखा जुधाउने समय आएको छ । ‘महाभोज’ केवल एक कथा होइन, यो हो समाजको ऐना हो । यसमा धेरै कथा छन् ।
– सहकारीपीडितको कथामा सिनेमा बनेको छ, रिसर्चका लागि कति समय खर्चिनुपर्यो ?
‘महाभोज’ले उठाउने प्रश्नहरू केवल पात्रहरूका होइनन् – यी त तपाईँ, हाम्रै समाजका गहिरा यथार्थहरू हुन् ।
– रवी लामिछानेसँग जोडिएका सहकारी र तीनका पीडितसम्म पनि पुग्नुभयो ?
सहकारीमा एक व्यक्ति मात्र दोषी हुन् र ? प्रवृत्तिहरूले बनाएको यो सिंगो संरचनाको जग कमजोर हुँदा यो समस्या आएको हो । हामीले व्यक्तिभन्दा पनि प्रवृत्तिमा रहेर काम गरेका छौँ ।
यो समस्या आजको मात्र होइन, विगत लामो समय देखिको हो । पछिल्लो समय सतहमा आएका व्यक्तिहरूसँग मात्र जोडिएको कुरा होइन, यो त वर्षौँदेखि पीडित लाखौँको कथा हो । रवि लामिछाने दोषी हुन् या होइनन् भन्ने कुरा अदालतमा विचाराधीन छ । यो चलचित्र व्यक्तिवादीभन्दा पनि पवृत्तीको विरोधी हो ।
सत्ता र सहकारीको मिलेमतो, अनि त्यसले निम्त्याउने अन्याय र मौनताको पर्दाफास छ । सिनेमाको पर्दाबाट प्रतिध्वनित गर्ने प्रयास गरेको छु ।
– तपाईं सिनेमा निर्माण, रिलिज, विषय छनोटदेखि प्रदर्शनसम्म राजनीति गर्नुहुन्छ भन्ने छ, कसरी खण्डन गर्नुहुन्छ ?
मैले मेरो चलचित्र ‘महाभोज’ जेठ १५ गते एकल रिलिज गर्दै छु । यहाँ के को र को सँग राजनीति भएको देख्नुहुन्छ ? राजनीति गर्छु भने, त्यो आफैँसँग गरेको छु ।
चलचित्र हेरेपछि, सायद तपाईँलाई पनि लाग्नेछ अब चुप लाग बस्नु हुँदैन । बोल्नुपर्छ । न्यायका लागि आवाज उठानुपर्छ ।
सत्य हेर्नुहोस्, प्रश्नहरूलाई महसुस गर्नुहोस् । महाभोज, यही जेठ १५ गतेदेखि, तपाईँको नजिकको हलमा लाग्दैछ ।
– ‘महाभोज’मा पनि मल्टिस्टारहरू छन्, किन यति धेरै स्टारहरू ? स्टार धेरै भएनन् भने सिनेमा चल्दैन भन्ने हो ?
कथा भित्रको पात्र अनुसार कलाकारको माग हुँदा आएको कलाकार हुन् । फिल्म चल्न र चलाउनलाई मात्र कलाकार कुनै फिल्ममा राखिन्दैन जस्तो लाग्छ ।
– ‘महाभोज’को खलपात्र दयाहाङ राई हो ?
उहाँको पात्र बहुआयामिक छ । न त सिधा नायक, न पूर्ण दोषी । कथाले दर्शकलाई आफैँ मूल्यांकन गर्न दिने ठाउँ राखेको छु । त्यही नै हाम्रो कथा भन्ने शैली हो । स्पष्ट होइन, तर सोच्न बाध्य पार्नेछ ।