‘नरसिंहा : अवतार’ पुरानै ढर्राको सिनेमा

पबन भट्टराई

जबसम्म देशको प्रहरी, प्रशासन, राजनीति र व्यापारीले सबैभन्दा माथि देश, जनता र सेवा हुन्छ भन्ने बुझ्दैन तबसम्म देशमा अन्याय अत्याचार र भ्रष्चार मौलाउँछ भन्ने नै चलचित्र ‘नरसिंहा : अवतार’हो कथा हो । र, जुन समाजमा अन्याय, अत्याचार र भ्रष्टाचारले जरो गाडेको छ, त्यहाँ पैसाको आडमा कसरी भ्रष्टहरूको राज चल्छ भन्ने सिनेमाको कथा हो ।

र, जुन समाजमा अन्याय अत्याचारले सीमा नाघ्छ र निर्दोष मान्छेहरू नागरिक अन्यायको चरम शिकार हुन्छन्, त्यहाँ कोही व्यक्तिले कानुन हातमा लिएर न्याय दिन र खोज्न आफैँ अग्रसर हुन्छ भन्ने नै यो चलचिको मुख्य कथा हो । यही कथाको सेरोफेरोमा ‘नरसिंहा : अवतार’ घुम्छ । यही हो सिनेमाको कथा सार ।

बलिउड फर्मुलामा सिनेमा छ अथवा अन्यायमा परेकाहरूको न्यका लागि वा भनौ परिबन्धमा परेकाहरूका लागि बचाउन हिरो आउँछ । र, यसले दर्जनौँ गुण्डाहरूलाई परास्थ गर्छ ।

राजेश हमाल काविल प्रहरी अफिसरको रुपमा सिनेमामा छन् । तर, कस्तो काविल अफिसर हो प्रष्ट छैन कथा । आफ्नै परिवार उसले बचाउन सकेको छैन । केस फत्ते गर्न नसकेर उसले राजीनामा दिन्छ । अनि कसरी भयो काविल प्रहरी अफिसर ? सेवामा छँदा त्यही काम गर्न नसकेर राजीनामा दिने ऊ बाहिर बसेर अपराधीलाई कठघरामा ल्याउने बताउँछ, यो सम्भव छ र ? कमजोर कथाको परिणाम हो यो ।

एक्सनसँगै समानान्तर रुपमा बगाउन खोजिएको लभस्टोरी एकै प्रकारका संवादले अगाडि बढेको महसुस हुँदैन । लभस्टोरीमा घटनाक्रम विकास नहुँदा स्टोरी सुस्त गतिमा अगाडि बढ्छ ।

तर, ‘नरसिंहा : अवतार’को आकर्षण राजेश नै हुन् । उनको प्रवेश, एक्सन र संवाद हेर्न लायक छ । तर, कतैकतै भने उनी क्यारेक्टरमा बस्न सक्दैनन् । बुढो मान्छेको झैँ चाल देखिन्छ । यो राजेश होइन निर्देशकको कमजोरी हो । राजेशले राम्रो एक्सन सिनेमा गर्ने टिम र कथा भेट्टाए अझै एक दशक काम देखाउन सक्ने प्रष्ट सन्देश देखाएका छन् । तर, यसबाटै कमब्याक गर्ने उनको सपना भने अधुरै रह्यो । पुरानै कथा र पुरानै वाचन शैलीले उनको कमब्याकलाई रोक्यो । धमाकेदार कमब्याक हुन सक्ने अवसरबाट उनी बञ्चित भए । राजेश हमाल व्यस्त हुँदा जस्ता सिनेमा खेल्थे, त्यस्तै सिनेमा उनले रोजाइमा पर्दा कमब्याक कमजोर भयो ।

अभिनयमा सरोज खनाल अगाडि छन् । अरु फिका छन् । शनिशा भट्टराईलाई लभर गर्लमा सुहाएको छ । तर, अभिनयमा उनले धेरै मेहन गर्न बाँकी छ ।

सांगीतिक पक्ष भने बलियो छ । गीतबाट निर्देशकले भावनात्मक पक्षलाई जोड दिएका छन् । गीतको लोकेसन सिनेमाको आकर्षक पक्ष हो ।

जसरी पुरानो फर्म्याटमा सिनेमाको कथा बुनिएको छ । र, पुरानै ढर्राको वाचन शैली छ । त्यस्तै छ सिनेमाको बिजिएम पनि । एक्सन सिनेमामा सोसल ड्रामाभन्दा गज्जवले बीजीएममा खेल्न सकिन्छ । त्यसले सिनेमालाई स्तरीय बनाउँछ । तर, निर्देशकले यसलाई प्राथमिकतामा राखेका छैनन् ।

क्यामेरा वर्क नराम्रो छैन । तर, एकै प्रकारका सर्ट डिजाइनले नयाँ पन हेर्न पाइँदैन । सिनेमाको कथा र वाचन शैली नै कमजोर हुँदा सिनेमा खास बन्न नसकेको प्रष्ट देखिन्छ ।

‘नरसिंहा : अवतार’ राजेश हमालका हार्डकोर फ्यान जो उनलाई एक झलक हेर्न मात्रै भए पनि हल जान्छु भन्नेबाहेक र राजेश हमाल एक नम्बर रोजाइको कलाकार हुँदा त्यसलाई मन पराउने दर्शकको रोजाइमा पर्नसक्छ ।

तर, अहिलेको समयका कथा हेरिरहेको र फरक वाचन शैली हेरिरहेका दर्शकका लागि भने ‘नरसिंहा : अवतार’ रोजाइमा पर्दैन । अब हेर्ने कि नहेर्ने तपाईंको इच्छा ।