‘नरसिंहा : अवतार’मा एउटा डाइलगमा सीमित नीति शाह

काठमाडौं । मोडलिङको पृष्ठभूमिबाट चलचित्र अभिनेत्री बनेकी नीति शाह पछिल्ला दिनमा अभिनयमा सक्रिय छन् ।

एक दशक मोडलिङमा बिताएर र्‍याम्पको दुनियाँमा चम्किएकी नीतिले फिल्मी पर्दामा पनि आफूलाई चम्काउने सपना देखेकी थिइन् । तर, सपना देख्नु र त्यो साकार हुनु फरक कुरा हुन् । यसको उदाहरण उनी आफैँ हुन् ।

‘खजुरे ब्रो’बाट सिनेमामा डेब्यु गरेकी नीतिको अभिनयका हिसाबले दोस्रो फिल्म ‘ज्वाइँ साब’ हो । पहिलो सिनेमाबाट दर्शकले उनलाई खासै चिन्न पाएनन् । दोस्रो चलचित्रमा उनको जोडी हास्य विधामा रुचाइएका अभिनेता जितु नेपालसँग बाँधियो ।

तेस्रो सिनेमामा आइपुग्दा नीतिले अभिनेता राजेश हमालसँग स्क्रिन सेयर गर्ने अवसर पाइन् । त्यो पनि राजेशको अपोजिटमा । उनको उनका लागि सफलता हो ।

हमालसँग स्क्रिन सेयर गर्नु ठूलो उपलब्धि जस्तो लागे पनि वास्तविकतामा यो चलचित्रमा उनी एउटा सिनको डाइलगमै सीमित भइन् । हमालसँग जोडी बाँध्न पाउनु स्वप्नजस्तै भए पनि पर्दामा उनको उपस्थिति नगन्य छ । फ्ल्यासब्याकमा देखिने उनलाई एउटा सिनेको डाइलगमै निर्देशकले सीमित गरिदिएका छन् । त्यसैले उनका लागि यो चलचित्र ‘कागलाई बेल पाक्यो हर्ष र विषमात्’ जस्तै हुन पुगेको छ ।

उनको भूमिका केवल एउटा सिनको डाइलगमा सीमित भएकाले अभिनय गरेर आफ्नो क्षमतालाई प्रमाणित गर्ने अवसर पनि पाइनन् ।

फिल्मलाई करिअरको रूपमा अगाडि बढाउने भन्दै ‘भर्सटाइल’ बन्ने आकांक्षा राखेकी नीतिका हातमा अहिले ‘मोहर’, ‘काेशेढुङ्गा’ र ‘रुखान’जस्ता चलचित्रहरू छन् । तर, यीमध्ये कतिपय अझै पोस्ट–प्रोडक्सनमै अल्झिएका छन् भने ‘रुखान’ कहिले सुरु हुन्छ भन्ने समेत टुंगो छैन ।

फिल्मलाई करिअरको रूपमा अगाडि बढाउने दृढता लिएकी शाह अहिले भने निरन्तर फिल्ममा हात हालिरहेकी छिन् । उनी निकट भविष्यमा रिलिजको तयारीमा रहेको चलचित्र ‘मोहर’मा देखिने छिन् ।

त्यसैगरी, ‘कोशेढुंङ्गा’ नामक फिल्म पोस्ट–प्रोडक्सनको चरणमा पुगेको छ भने ‘रुखान’ नामक अर्को चलचित्रमा पनि उनले सम्झौतामा हस्ताक्षर गरिसकेकी छिन् । यद्यपि, ‘रुखान’ कहिले निर्माणमा जाने हो भन्ने टुंगो लागिसकेको छैन ।

अब प्रश्न उठ्छ– नीतिको करिअर कुन मोडमा छ ? फिल्ममा अभिनयभन्दा बढी कभर फोटामा देखिने नीतिले वास्तवमै अभिनयमा फोकस गर्छिन् कि ग्ल्यामरस तस्बिरमै सीमित हुने हुन् ?

नेपाल फिल्म उद्योगमा टिक्न अभिनय क्षमताको मात्र होइन, सशक्त उपस्थिति र दर्शकसँगको कनेक्सन पनि चाहिन्छ । अब नीति शाह त्यो कसरी स्थापित गर्छिन्, त्यो भने हेर्न बाँकी छ ।

एकपछि अर्को फिल्ममा उनको उपस्थितिलाई कति प्रभावशाली बनाइन्छ भन्ने कुराले मात्र होइन, फिल्म निर्माताले उनलाई कस्तो खालको भूमिकामा प्रस्तुत गर्छन् भन्ने कुराले पनि उनको करिअरको दिशा तय गर्नेछ ।

अब हेर्न बाँकी छ– आगामी चलचित्रहरूमा उनले दर्शकलाई प्रभावित पार्न सक्ने भूमिकाहरू पाउँछिन् या फेरि ‘एउटा डाइलगमा सिमित’ हुने अवस्था दोहोरिन्छ । सिनेमाबाट अफर आउनबित्तिकै हतारमा साइन् गर्नेभन्दा पनि आफ्नो भूमिका कस्तो छ, त्यसको चयनमा उनले ध्यान दिनुपर्ने देखिन्छ । होइन भने उनको फिल्मी करिअर लय नसमाउँदै पूर्णविराम नलाग्ला भन्न सकिन्न ।