‘नरसिंहाः अवतार’: राजेश हमालको कमब्याक प्रभावहीन, देश दौडाहा गर्दा पनि कमजोर प्रदर्शन

काठमाडौं । अभिनेता राजेश हमाल करिब एक दशकपछि पर्दामा फर्किए भनेर ठूलो चर्चा बटुल्दै आएको चलचित्र ‘नरसिंहाः अवतार’ले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको देखिएको छ ।
शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यो सिनेमाले रिलिजको पहिलो दिन नै औसत व्यापार गरेर त्यस यता चलचित्र ‘ऊनको स्वीटर’को चापबीच आफूलाई जोगाउन संघर्ष गरिरहेको छ ।
प्रदर्शनको दोस्रो दिन शनिबार केही शहरहरूमा उत्साहजनक ओपनिङ देखिएको भए पनि तेस्रो दिनबाट पुनः दर्शकको चाप घट्दै गएको छ ।
चलचित्रको कमजोर व्यापार देखेपछि निर्माण टिम देश दौडाहामा निस्किएको छ । मोफसलका विभिन्न हलहरूमा राजेश हमालसहितका कलाकारहरू पुगेर प्रचार–प्रसारमा जुटिरहेका छन् । दर्शकलाई हलसम्म तान्ने प्रयासस्वरूप फोटो सेसन, मिडिया मिट र दर्शकसँगको अन्तक्र्रियामा व्यस्त छन् ।
तर, त्यहाँ पनि दृश्य आशाजनक छैन । भिड जम्मा हुने भए पनि चलचित्रबारे प्रतिकृया नकारात्मक नै देखिन्छ । अधिकांश दर्शकहरूले ‘नरसिंहाः अवतार’को कथा, पटकथा र निर्देशनलाई कमजोर भन्दै आलोचना गरिरहेका छन् ।
दर्शकहरू हमालको क्रेज त छ, तर फिल्म नै कमजोर भयो भन्ने धारणा राख्छन् ।
‘नरसिंहाः अवतार’को प्रचारका लागि राजेश हमाल निकै सक्रिय देखिएका छन् । मोफसल दौडाहामा टिम जुटिरहेको बेला हमाल पनि पूर्वदेखि पश्चिम नेपालसम्मका दर्शकमाझ उनीहरू पुगेर हलभित्र दर्शक भित्र्याउने प्रयास गरेका छन् ।
निर्माण टिमले नै फेसबुक, टिकटक र इन्स्टाग्राममा हमालसँग दर्शकको भिड देखिए पनि हलमा दर्शकको संख्याले त्यो उत्साह दर्शाउन सकेन । सामाजिक सञ्जालमा हमालको उपस्थिति बाक्लो देखिए पनि त्यो डिजिटल हाइप हलभित्र रुपान्तरण हुन सकेन ।
‘नरसिंहाः अवतार’को हालसम्मको प्रदर्शन र समीक्षकहरुबाट आएको समीक्षालाई हेर्दा यो सिनेमालाई पछिल्ला दिनमा टिकाउन कठिन देखिन्छ । दर्शकको समीक्षा सुधार गर्न सकिने अवस्था छैन भने नयाँ ‘वर्ड अफ माउथ’ बन्ने सम्भावना पनि न्यून छ ।
चलचित्र समीक्षकहरुले ‘नरसिंहाः अवतार’लाई प्रायः नकारात्मक प्रतिक्रिया दिएका छन् । कथामा नवीनता नभएको, पटकथा कमजोर भएको र निर्देशनमा पक्कापन नदेखिएको भन्दै आलोचना गरिएको छ । हमालको कमब्याक भनेर ‘नरसिंहाः अवतार’ले नै दर्शकमा केही ठूलो र भिन्न अपेक्षा बनाएको भए पनि फिल्मले त्यो स्तर पुरा गर्न नसकेको उनीहरूको भनाइ छ ।
केही सिनेमा विश्लेषकहरु भन्छन्, “शुरुवातमै उत्साहजनक ओपनिङ नगरेको फिल्मलाई दर्शकले दोस्रो अवसर दिन गाह्रो हुन्छ । अहिलेको प्रतिस्पर्धी बजारमा कमजोर माउथ पब्लिसिटीले नै ‘नरसिंहाः अवतार’लाई असर पुर्याएको हो ।”
“राजेश हमालको अभिनय अझै दमदार छ, तर फिल्मले नै उनलाई न्याय गर्न सकेन । यस्तो लाग्छ, उनले जुन फिल्म रोजे, त्यो उनको कमब्याकका लागि उपयुक्त थिएन,” एक समीक्षक भन्छन्, “आजका दर्शक कथामा जान्छ, प्रस्तुतिमा आकर्षण र सबैभन्दा महत्वपूर्ण – फ्रेशनेस खोज्छन्, तर ‘नरसिंहाः अवतार’ले त्यो दिन सक्ने अवसर गुमाएको देखिन्छ ।”
यतिबेला नयाँ पुस्ताका दर्शकहरू फरक शैली र प्रगतिशील कथा खोजिरहेका छन् । तर ‘नरसिंहाः अवतार’ पुरानो शैलीको सिनेमाले त्यसलाई सम्बोधन गर्न नसकेको भन्दै हमालका हार्डकोर दर्शक समेत निराश भएका छन् ।
राजेश हमालका समर्पित फ्यानहरू समेत फिल्मप्रति सन्तुष्ट देखिँदैनन्। धेरैले हमालको कमब्याक सशक्त हुने अपेक्षा राखेका थिए, तर फिल्मको प्रदर्शनपछि उनीहरूले नै सामाजिक सञ्जालमा “नरसिंहाः अवतार कमजोर कमब्याक” भन्दै आलोचना गरेका छन् ।
एक दर्शकले लेखेका छन्, “हाम्रा बाल्यकालका हिरो फर्किनु खुसीको कुरा हो तर यस्तो प्रस्तुति ल्याउने हो भने त्यो पुरानो छविलाई पनि असर पुर्याउँछ ।”
राजेश हमाल जस्तो स्थापित कलाकारको कमब्याकलाई निराशामा परिणत गर्नु नेपाली दर्शककै लागि दुःखद पक्ष मान्न सकिन्छ । निर्माण टिमले समेत सोच्नुपर्ने अवस्था आएको छ, अहिले दर्शकलाई कथा चाहिएको छ, ‘स्टार’ मात्र पुग्दैन ।
अबको आशा भनेको निर्माण टिमले समीक्षा सुनेर भविष्यमा राम्रो प्रस्तुति ल्याउने हो कि भन्ने मात्र हो ।