केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माइतीघर’को छायांकन सकियो

काठमाडौँ । चलचित्र ‘माइतीघर’को छायांकन सकिएको छ । ३२ दिनमा छायांकन सकिएको हो ।
“३२ दिनमा हाम्रो चलचित्रको छायांकन सकिएको छ । अब दुईवटा गीतको छायांकन मात्रै बाँकी छ,” निर्माता रोहित अधिकारीले भने ।
म्याग्दीको ताकम गाउँमा चलचित्रको छायांकन सुरु भएको थियो । निर्माता रोहित अधिकारीका अनुसार चलचित्रको पहिलो चरणको छायांकन ताकम र धारपानी गाउँमा र दोस्रो चरण दरबाङस्थित तातोपानी क्षेत्रमा गरिएको छ ।
मिलन तामाङको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रमा रोहित अधिकारीलगायतको लगानी छ ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा केदार घिमिरे ९माग्ने बुढा० धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ र शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रविन शेरचन र धीरज तामाङ सह–निर्माता छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् ।
निर्माणपक्षले चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो चलचित्र माइतीघरको सिक्वेल भने नहुने बताएको छ । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।
निर्माणपक्षका अनुसार ‘माइतीघर’ले तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई कथाको मूल धार बनाएको छ । दसैँको फूलपातीको दिन चलचित्र रिलिज हुनेछ ।
निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’जस्ता चलचित्रले दर्शकमाझ राम्रो छाप छोडेका थिए ।