सुशील र अञ्जनाको चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापामा

काठमाडौं । नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त गरिएको छ । झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा गर्दै शुभमुहूर्त गरिएको हो ।

विजय केरुङले निर्देशक गर्ने चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिकामा छन् । मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।

चलचित्र करिब ४० दिन पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा छायांकन हुनेछ । निर्माणपक्षले यसै वर्ष चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।

मुहूर्तमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले गरे भने नेपाली कांग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ हानेका थिए ।

कलाकारहरू सुशील श्रेष्ठ, अञ्जना बराइली, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ र निर्माता दीपक सिवाकोटी लगायत चलचित्र युनिट उपस्थिति थियो ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि उजागर गर्ने बताइएको छ ।

चलचित्रका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका छन् । चलचित्रमा सुशील र अञ्जना सहित सुनील थापा, बुद्धि तामाङ, करिष्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । छायांकन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । करिब पाँच दशकपछि पुनः यही नाममा अर्को कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।