कलाकारको काष्टिङ र सिनेमा छनोटमा कलाकार र मेकर दुवै गम्भीर बन

केही दिन अगाडि कलाकार पल शाह चलचित्र ‘महाराजधिराज’बाट बाहिरिए । उनी यो चलचित्रको नायकको भूमिकामा थिए । मुख्य भूमिकामा अनुबन्ध भएका उनलाई निर्माण टिमले निकाल्यो वा आफैँ बाहिरिए । त्यो प्रष्ट छैन । यसबारे केही नबोल्ने दुवै पक्षबीच सम्झौता नै भएको निर्माण टिमले विज्ञप्तिमै उल्लेख गरेको छ ।

सार्वजनिक पोस्टर हेर्दा र सुनिए अनुसार यो सिनेमामा पलले क्यारेक्टर आर्टिस्टको भूमिका निभाउनु पर्ने थियो । यसका लागि उनले कम्तीमा १५/२० केजी तौल घटाउनु पर्ने थियो । तर, अन्तिम समयमा आएर उनी बाहिरिए/निकालिए ।

पलका लागि अन्तिम समयमा आएर सिनेमा छोडेको वा छोड्नु परेको यो पहिलोपटक भने थिएन । उनले यो अनुभव पहिला पनि गरिसकेका थिए । यसअघि ‘कल्ली’ पनि अन्तिम समयमा आएर उनले छोडेका थिए/छोड्नु परेको थियो ।

‘कल्ली’मा पनि पलको पोस्टर सार्वजनिक भइसकेपछि अन्तिममा उनीसँगको सम्झौता निर्माणपक्षले रद्ध गरेको थियो ।

यी दुई चलचित्र र कलाकार पल त उदाहरण मात्रै हुन्, यस्ता थुप्रै कलाकार छन्, जो सिनेमा साइन गरिसकेर, एडभान्स रकम लिइसकेर अन्तिम समयमा निस्किएका छन् ।

यसरी सिनेमा छायांकनको मुखमा कलाकार निस्किँदा वा निकाल्दा दुवै पक्षलाई राम्रो हुँदैन । कलाकार आफैँ निस्किएको हो भने निर्माता र निर्देशकको ऊ प्रतिको विश्वास गुम्छ । र उसको छवि नै गैरविश्वासी र हाउडे कलाकारको बन्छ । जसले उसको करिअरमै धक्का पुग्छ ।

अर्को यदि, उसले अन्तिम समयमा आएर म काम गर्न सक्दिनँ, यति धेरै चुनौती र जोखिम उठाउन सक्दिन भनेर छोड्ने हो भने कामप्रतिको डेडिकेसन नै देखिँदैन । लगाव नै नभएको कलाकार भन्ने छाप बस्छ ।

अर्को काम गर्न सक्दिनँ भन्ने लाग्छ भने सुरुमै उसले स्टोरी सुन्दा नै यो निर्क्यौल गर्नसक्नुपर्छ । यसमा यो प्रक्रियाबाट यसरी काम गर्नुपर्छ मैले यति गर्न सक्छु, यो भन्दा धेरै काम गर्न सक्दिनँ भन्ने भएपछि उसले सुरुमै म सक्दिनँ भन्न सक्नुपर्छ ।

अन्तिममा आएर सक्दिनँ भन्दा निर्माताले उसका लागि भनेर गरेको तयारी खेर जान्छ । लगानी खेर जान्छ । उसलाई हेरेर गरेको अपोजिटकको कास्ट पनि सुहाउँदो नहुनसक्छ, जसले समग्र सिनेमाको हार्मोनी नै खल्बलिन्छ । परिणाम सिनेमा सोचेजस्तो नहुनसक्छ ।

रह्यो कुरा निर्माणपक्षतर्फको । यदि, निर्माणपक्षले पोस्टर र समाचार निकालिसकेपछि निकालेको हो भने पहिलो कुरा त साइनिङ अमाउन्ट स्वरुप दिएको पारिश्रमिक फिर्ता माग्न मिलेन त्यहीँ नै आर्थिक घाटा भयो ।

दोस्रो, कलाकारको करिअरमा उसका कारणले पुग्ने क्षतिका लागि ऊ परोक्ष रूपमा जिम्मेवार हुन्छ । अरुको व्यक्तिगत जिन्दगीमा क्षति पुर्‍याउने अधिकार कसैलाई हुँदैन ।

सबैभन्दा मुख्य कुरा के हो भने सही काष्ट । अथवा कथा अनुसारको काष्ट गर्नु, कलाकार छनोट गर्नु । सबैभन्दा राम्रो उपाय र काम भनेको कथाले मागे अनुसारको कलाकार छनोट सुरुमै गर्नुपर्छ ।

पछिल्लो समय नेपालमा पनि कास्टिङ डिरेक्टर राखेर काम गर्ने चलन चलिसकेको छ । त्यही गर्ने । त्यस्तो कास्टिङ डिरेक्टर छनोट गर्दा निर्देशक र निर्माताले ध्यान दिने । र, कास्टिङ डिरेक्टरले पनि कलाकार कथाअनुसार छनोट गर्ने ।

मुख्य कुरा के भने कलाकारलाई निर्माताको करोडौंको प्रोजेक्टलाई धक्का दिने अधिकार छैन । महिनौँ कुरिसकेपछि कलाकारले काम गर्न सक्दिनँ भन्यो भने निर्माताको करोडौैं पैसा होल्ड हुँदा त्यसले आर्थिक क्षति पनि हुन्छ ।

निर्देशक तथा निर्मातालाई पनि कुनै पनि कलाकारको क्षमतामाथि प्रश्न उठाउने अधिकार छैन । त्यसैले सुरुमै निर्माणपक्षले मलाई चाहिएको यो कलाकार हो भनेर निर्क्यौल गरेर लिनुपर्छ । शंका लागे अडिसन लिनुपर्छ ।

कालकारले पनि म यो काम गर्न सक्छु र यो सक्दिनँ भनेर निर्णय गरेर सिनेमामा अनुबन्ध हुने वा नहुने निर्णय गर्नुपर्छ । यसमा दुवै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्छ ।