पहिलोपटक वर्कसप गर्ने नेपाली चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा फरक धारका चलचित्र बन्न कहिलेबाट सुरु भयो ? धेरैले ‘लुट’ भन्छन् । तर, होइन । यसअभन्दा अगाडि पनि थुप्रै चलचित्र बनेका छन्, जुन बलिउडका फर्मुला सिनेमाभन्दा अलग थिए ।

‘बासुदेब’, ‘परालको आगो’, ‘मुकुण्डो’ आदि । पछिल्लो समयको भने ‘लुट’ हो । जसले राम्रो व्यापार पनि गर्दा र त्यसको चर्चा धेरै हुँदा तथा यसको सिको गर्ने धेरै हुँदा यसले जस लिएको थियो ।

आज हामी चलचित्र ‘नुमाफुङ’ले नेपाली चलचित्र उद्योग गरेको एउटा नयाँ सुरुवातको कुरा गर्नेछौँ । जो नेपाली सिनेमा उद्योगमा नयाँ रेकर्ड नै बन्यो ।

नेपाली चलचित्र उद्योगको इतिहासमा वर्कसर्प गर्ने पहिलो चलचित्र ‘नुमाफुङ’ हो । पछिल्लो समय वर्कसप नगर्ने चलचित्र हुँदैनन् । वर्कसप भनेको चलचित्र छायांकनमा जानुअगाडि निर्देशक र मुख्य कलाकार बसेर गर्ने तयारी हो ।

यसको सुरुवात गर्ने चलचित्र ‘नुमाफुङ’ हो । यसलाई निर्देशन गरेका थिए, नवीन सुब्बाले ।

सन् २००१ मा रिलिज भएको यो चलचित्र पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको संस्कार र संस्कृतिमा आधारित रहेर बनेको चलचित्र हो ।

अनुपमा सुब्बा यो सिनेमाको मुख्य कलाकार थिइन् । ‘नुमाफुङ’को अर्थ सुन्दर फूल हो ।

यो सिनेमा छायांकनमा जानुभन्दा अगाडि निर्देशक नवीन सुब्बाले मुख्यमुख्य कलाकारलाई राखेर सिनेमामा कसरी काम गर्ने, कसरी डाइलग बोल्ने, कसरी पेयरअप गर्ने, कसरी इमोसन विकास गर्ने, कसरी खिच्ने जस्ता कुराहरूमा तयारी गरेका थिए । यही वर्कसप नै नेपाली सिनेमा उद्योगको पहिलो वर्कसप बन्यो, इतिहास बन्यो ।

अहिले अपबाद बाहेक सबै सिनेमाको वर्कसप हुन्छ । वर्कसप गर्दा कलाकारहरूबीचको चिनजान र निकटता, आफ्नो रोलबारेको क्लियर जानकारी, कथालगायत कुरामा स्पष्ट हुँदा सुटिङ सेटमा सिनेमा खिच्न सहज हुन्छ । छायांकनमा अलमल नहुँदा सुटिङ डेज पनि घट्छ । त्यसैले आजकाल वर्कसप अनिवार्यजस्तै भइसकेको छ ।

‘नुमाफुङ’ नवीन सुब्बाको दोस्रो निर्देशन थियो । उनको पहिलो चलचित्र ‘खांग्री’ थियो । जुन शेर्पा कल्चरमा आधारित थियो । ‘खांग्री’ निजी क्षेत्रबाट बनेर इन्टरनेसनल फिल्म फेस्टिभलमा जाने पहिलो सिनेमा थियो ।

नवीनको ‘नुमाफुङ’ पनि इन्टरनेसनल फिल्म फेस्टिभलमा गएको थियो । फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको थियो ।