‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने, दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी

काठमाडौं । नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ । जापानमा यसको प्रदर्शन जारी छ ।

कोरियामा हिमालयन के–भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिखमा भएको थियो । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका परिवारको कथालाई पर्दामा उतारेको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

नेपालमा यो चलचित्र शुक्रबार रिलिज भएको थियो ।