ती फिल्म : सफल व्यापार, सकारात्मक तारिफ

काठमाडौं । चलचित्र निर्माणका दुई पाटा हुन्छन्, एउटा व्यापार अर्को प्रतिक्रिया । लाखौँदेखि करोडौँ लगानीमा निर्माण भएका सिनेमाले राम्रो व्यापार गरुन् भन्ने निर्माता र निर्देशकको चाहना हुन्छ । अर्कोतर्फ सिनेमा हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिउन् भन्ने अपेक्षा निर्माता र निर्देशकमा हुनु स्वाभाविक हो ।

तर, सधैँ यी दुई कुरा एकसाथ भइदिँदैनन् । कहिले राम्रो प्रतिक्रिया पाएर पनि व्यापारिक रुपमा सिनेमा असफल भइदिन्छन्, केही नराम्रो प्रतिक्रियाका बाबजुद पनि बक्सअफिसमा सफल हुन्छन् । यहाँ पुरानो दशक र पछिल्ला दशकका चार सिनेमाको चर्चा गरिएको छ, जुन सिनेमा व्यावसायिक रूपमा सफल मात्र भएनन्, असल तारिफको हकदार पनि बने ।

सन् १९९० मा निर्माण भएको चलचित्र ‘चेलीबेटी’लाई त्यस समयको सफल सिनेमा मानिन्छ । प्रदीपकुमार उदय र यादव खरेलको निर्माण तथा यादवकै कथा र निर्देशन रहेको सिनेमाले तत्कालीन समयमा भारतको कोलकाता र मुम्बईमा लगेर बेचिएका नेपाली चेलीको बेदना र समाजमा उनीहरूलाई पुनःस्थापना गर्न गरिएको संघर्ष देखाएको छ ।

सिनेमाका लेखक तथा निर्देशक खरेल उक्त समयमा यो सिनेमा बनाउनु निकै चुनौतीपूर्ण रहेको सम्झन्छन् । “हाम्रो सिनेमा वास्तविक कथाको भए पनि त्यो समयमा बजारमा मनोरञ्जनपूर्ण सिनेमाको भीड नै थियो,” उनी भन्छन्, “यस्तो बेला सामाजिक सन्देश दिने सिनेमा बनाउनु आफैँमा जोखिम थियो ।”

यादवका अनुसार भारतको मुम्बई र कोलकातामा नेपाली चेलीबेटी लगेर बेचबिखनको काम तीव्र रूपमा बढिरहँदा सिनेमाले त्यस्तो कार्य गर्नु अपराध हो भन्ने सन्देश दिन्थ्यो । “यो सिनेमा बनाउनु अघि म आफैँ कोलकाता र मुम्बई पुगेर पीडित नेपाली महिलासँग कुराकानी गरेको थिएँ । त्यो मेहनतले सिनेमा बनाएका थियौँ । सिनेमा दर्शकले मनपराउनुमात्र भएन, सुपरहिट नै भयो,” उनी भन्छन् ।

आफूहरुले फरक कथामा सिनेमा बनाउँदा दर्शकले मनपराइदिएपछि त्यसले नयाँ हौसला दिएको यादवको बताउँछन् । “दर्शकहरु केवल मनोरञ्जनमात्र होइन, सामाजिक विषयमा पनि उत्तिकै चासो दिँदा रहेछन् भन्ने त्यो चलचित्रबाट थाहा पाइयो”, उनी भन्छन् ।

‘चेलीबेटी’मा शर्मिला मल्ल, अर्जुन जंग शाही, हरिहर शर्मा, मदनदास श्रेष्ठ, नीर शाह, सकुन्तला शर्मालगायतको अभिनय छ ।

एक समयमा हिट सिनेमा दिने निर्देशकमा लक्ष्मीनाथ शर्मा पनि चिनिन्छन् । ‘बद्लिँदो आकाश’बाट निर्देशनमा पाइला चालेका लक्ष्मीले नेपाली सिनेमा क्षेत्रमा ‘सारंगी’, ‘छोरी बुहारी’, ‘साथी’, ‘वरपीपल’जस्ता सफल सिनेमा दर्शकलाई दिइसकेका छन् ।

लक्ष्मी सिनेमा ‘छोरीबुहारी’बाट धेरै सन्तुष्ट छन् । “हरेक घरमा सासु र बुहारीबीच खटपटका कुरा सुन्दै आएका थियौँ । उनीहरू एकापसमा झगडा गर्ने, एकले अर्कोलाई नटेर्नेजस्ता समस्या पनि छँदै थिए । अहिले पनि छन् । हामीले त्यसरी समस्याको समाधान हुँदैन भनेर बुहारीलाई पनि छोरी सरह नै व्यवहार गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेका थियौँ,” उनी भन्छन्, “सासुलाई पनि बुहारीले सासुका रुपमा नभई आमाको रुपमा हेर्न सक्छन् भन्ने देखाउन चाहन्थ्यौँ । यो कुरालाई दर्शकले सहर्ष स्वीकार्नुभयो । विशेष महिला दर्शकबाट प्राप्त प्रतिक्रिया निकै राम्रो थियो ।”

सन् १९९६ मा निर्माण भएको सिनेमा ‘छोरीबुहारी’मा राजेश हमाल, पूजा चन्द, नीर शाह, पवन मैनाली, शुभद्रा अधिकारी र नारायण त्रिपाठीको अभिनय छ ।

निर्देशक नवल नेपाल नेपाली सिनेमा क्षेत्रमा कम सिनेमा निर्देशन गर्छन्, तर जति निर्देशन गर्छन्, ती सिनेमाबाट उनले तारिफ नै पाएका छन् ।

सन् २०११ मा रिलिज सिनेमा ‘श्रीमान्’मा नवलकै निर्देशन छ । “हामीले यो सिनेमा बनाइरहँदा त्यो बेला एक्सनप्रधान सिनेमाको जगजगी थियो । हाम्रो सिनेमा पारिवारिक थियो । दर्शकले मनपराउछन् कि होइन भन्ने डर थियो । हामीले सिनेमा रिलिज हुुनुभन्दा केही समयअघि ५,६ वटा विशेष शो गरेका थियौँ,” नवल सम्झन्छन्, “त्यो शो सकिएपछि विशेषत महिला दर्शक धेरै भावुक भएको देख्यौँ । उहाँहरूको प्रतिक्रिया पनि झनै राम्रो थियो । सिनेमामा श्रीमानलाई एन्टागोनिस्टका रुपमा देखाइएको थियो । जसकारण महिलाहरूको प्रतिक्रिया राम्रो थियो । जोकोही पनि गल्तीमा आफूलाई देखेपछि चुप लाग्दा रहेछन् । श्रीमानको हकमा त्यही भयो ।”

‘श्रीमान्’मा कल्याण घिमिरे, पूजना प्रधान, नीर शाह, सुनील थापा, पुष्पराज पुरुष, रुपा खनाललगायतको अभिनय छ ।

निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘आमा’ उनका सफल सिनेमामध्ये एक हो । विसं २०७६ मा रिलिज भएको यो सिनेमा उक्त वर्षको सफल सिनेमामामध्यको एक हो । निर्देशक खनाल ‘आमा’ले महिला सशक्तिकरणको कुरा गरेकै कारण दर्शकमाझ प्रिय बनेको दाबी गर्छन् ।

“वैदेशिक रोजगारीका कारण गाउँमा केटा मान्छे कमै मात्र भेटिन्छन् । गाउँघरमा सबै कामको जिम्मेवारी केटी मान्छेकै काँधमा छ । घरमा बाबुआमाको निधन भयो भने अझै पनि विदेश गएको छोरा नै पर्खनुपर्ने बाध्यता छ,” दीपेन्द्र भन्छन्, “त्यसको विपरीत मैले सिनेमामा छोरीले पनि निधन भएकी बाआमाको काम गर्न सक्छिन् भन्ने सन्देश दिएको छु । किनकी सिनेमामा छोरा त विदेशमा नै हुन्छ । सिनेमा रिलिज हुँदा सिनेमा हलमा यस्तो भावुक माहोल थियो । तर, त्यसलाई सामाजिक सञ्जालमा राख्न हामीले चाहेनौँ ।”

दीपेन्द्रको अनुभवमा विशेषतः वृद्धवृद्धा उमेरका दर्शक सिनेमाबाट बढी प्रभावित भएका रहेछन् । “एउटा हलमा जाँदा एक बुढी आमाले मलाई अंगालोमा हालेर रुनुभयो । उहाँले हाम्रो कुरालाई सिनेमामा देखाएको भन्दै मलाई धन्यवादसहित आशीर्वाद नै दिनुभयो । जुन मेरो लागि ठूलो खुसीको कुरा थियो”, दीपेन्द्र भन्छन् ।

सिनेमा ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मालगायतको अभिनय छ ।