प्रकाशजी ! अब नाच्न र गाउन छोड्ने पो हो कि ?
काठमाडौं । गायक तथा नायक प्रकाश सपूतलाई यतिबेला भ्याइनभ्याइ छ । उनले ‘प्रकाश सपूत मेला यात्रा’ नै चलाइरहेका छन् । विभिन्न जिल्लामा पुगेर सांगीतिक कार्यक्रम गरिरहेका छन् ।
यो मेला तथा महोत्सवको सिजन हो । बजारमा चलेका अथवा रुचाइएका गायकगायिकालाई यो समय फुर्सद नै हुँदैन । आज धरानमा भएको गायक भोलि धनगढीको महोत्सवमा गीत गाइरहेको हुन्छ, आज झापामा रहेकी गायिका अर्को दिन महेन्द्रनगरमा हुन्छिन् । त्यसैले त धेरैले भन्छन्, गायकगायिकाका लागि यो सिजन दसैँ हो ।
यही दसैँको माहोलमा छन्, प्रकाश सपूत पनि । विभिन्न जिल्लामा गीत गाउँदै हिँडिरहेका छन् । यही बेला उनलाई लट्री लाग्यो, समानुपातिक सूचीको उमेदवारको ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई आफ्नो दलको तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उमेदवार बनाएको छ । प्रकाश आफैँमा आजसम्म राजनीति गरेका व्यक्ति होइनन् । तर, दलितको क्लष्टरमा रहेकाले यदि, रास्वपाले समानुपातिकमा सम्मानजनक मत पायो भने प्रकाश सांसद बन्ने सम्भावना उच्च छ ।
त्यसैले अब प्रकाशले आफूलाई राजनीतिक व्यक्तिका रूपमा तयार पार्नुपर्नेछ । अब गीतको गेडो र संगीतको सुर पहिल्याउनतर्फ होइन, कानुनका दफा र उपदफा, संविधानका धारा र उपधारा केलाउन सक्ने बनाउनतर्फ आफूलाई केन्द्रित हुनुपर्नेछ । होइन भने गीतसंगीतमा सधैँ ‘फ्रन्ट रो’ मा देखिएका प्रकाश संसद्मा लाष्ट बेन्चर हुनुको विकल्प हुने छैन ।
जसरी आयो त्यसैगरी चल्छ भन्ने हो भने कसैले लेखिदिएको हेरेर पढ्न नजानेर ए.. होइन.. के… रे… ए… यो… सरी.. भन्दै रातो मुख लगाउनुपर्नेछ ।
त्यसैले संसद्मा पनि फर्स्ट बेन्चर हुने हो भने नाच्न गाउन छोडेर, भोलि सांसद भए पनि नभए पनि आजैबाट कानुन र यसका नौ सिंगबारे केन्द्रित पो हुने हो कि ! गाउने र नाच्ने त सांसद भए पनि फेरि पाँच वर्षपछि पाइहालिन्छ, नभए के भयो त ? राजनीति र कानुनबारे बुझेको व्यक्ति बनिन्न, होइन र ?



