लार्जर देन लाइफ सिनेमालाई पनि अघि बढाऊ

पछिल्लो समय नेपाली चलचित्र उद्योगलाई हेर्ने हो भने सोसल ड्रामा सिनेमाको बोलाबाला छ । संख्याको हिसाबले होस् वा बक्सअफिस सक्सेसको हिसाबले सोसल ड्रामा नै अगाडि देखिएका छन् ।

दर्शकदेखि मेकरसम्मले सोसल ड्रामा रुचाइरहेपछि लार्जर देन लाइफ सिनेमा छायामा प्रायः परिरहेका छन् । ठूलो क्यानभास माग्ने यस्ता चलचित्रको बजेट पनि धेरै हुने भएकाले अहिले धेरै सोसल ड्रामातर्फ आकर्षित हुँदा लार्जर देन लाइफ सिनेमा लगबग छायामा परिरहेका छन् ।

तर, असली सिनेम्याटिक फिल दिने र स्वैर कल्पना, एक्सन र सस्पेन्स ड्रामा भने लार्जर देन लाइफ सिनेमामा जति अनुभूत गर्न सकिन्छ, त्यो सोसल ड्रामामा सम्भव छैन । त्यसैले सोसल ड्रामा र लार्जर देन लाइफ दुवैलाई सँगसँगै अगाडि बढाउनुपर्छ ।

चलचित्र उद्योगलाई थप समृद्ध बनाउन पनि सबै खालका सिनेमा बन्नुपर्छ । जति धेरै जनराका सिनेमा बन्छन्, लार्जर देन लाइफ र सोसल ड्रामा बन्छन् त्यति नै दर्शकले पनि विकल्प पाउँछन् । सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्छ ।

किनकी हरेक सिनेमाका दर्शक हुन्छन् । पछिल्लो उदाहरण नै हेर्ने हो भने ‘जेरी अन टप’ पनि राम्रोसँग चल्यो । ‘परान’ पनि राम्रोसँग चल्यो ।

यी दुईवटै सिनेमा फरकफरक जनराका थिए । ‘जेरी अन टप’ लार्जर देन लाइफ थियो । ‘परान’ सोसल ड्रामा थियो । तर, यी दुवै चलचित्र बक्सअफिसमा मजाले चले । थोरै समयको अन्तरालमा प्रदर्शनमा आए पनि बक्सअफिसमा सफल भए । यसले के स्पष्ट गर्छ भने हरेक प्रकारका सिनेमामा दर्शक छन् ।

चलचित्र ‘लुट’ बनेपछि त्यसको सफलतासँगै एकै खालका सिनेमा आउन थाले । ‘कबड्डी’ र ‘पशुपतिप्रसाद’ सफल भएपछि त्यस्तै चलचित्र बन्न थाले ।

कुनै एउटा चलचित्र चल्यो भने लगातार त्यस्तै चलचित्र बनाउने नेपाली चलचित्र उद्योगको रोग नै हो । तर, सिनेमा उद्योगलाई समृद्ध बनाउने हो भने सबै प्रकारका चलचित्र बन्नुपर्छ ।

ठूलो क्यानभासका पनि र सानो बजेटका पनि सिनेमा बन्नुपर्छ । यसले धेरै दर्शकलाई समेट्छ । यसले सिनेमा कल्चर बसाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले हरेक प्रकारका सिनेमा बनाउन मेकरको ध्यान जानुपर्छ ।