धरानमा चलचित्र ‘कुमारी’को विशाल होर्डिङ, नेपालकै सबैभन्दा ठूलो पोस्टर भएको दाबी
धरान । माघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘कुमारी’ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो पोस्टर सार्वजनिक गरेको छ । धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी चलचित्रको होर्डिङ बोर्ड राखिएको हो ।
३२०० स्क्वायर फिट (४० बाई ८० फिट) क्षेत्रफलको उक्त होर्डिङ बोर्डको पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ । नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’को पोस्टर नै सबैभन्दा ठूलो भएको दाबी निर्माण पक्षले गरेको छ । धरानको व्यस्त क्षेत्रमै राखिएको विशाल पोस्टरले चलचित्रप्रति दर्शकको ध्यान तानिरहेको छ।
हाल चलचित्रको गीत ‘डोको बुन्ने निगाली चोयाले’ व्यापक चर्चामा छ । यस गीतका गायक केहर सिं लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै चलचित्रले पाँच सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिरहेको छ ।
कन्सर्ट अन्तर्गत नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ कन्सर्ट आयोजना गरिनेछ । कन्सर्टमा ब्यान्डसँगै चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको समेत सहभागिता रहनेछ ।
लभस्टोरी चलचित्र निर्देशनमा माहिर राउतको यस चलचित्रलाई प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन् ।




