‘कुमारी’को ट्रेलरको केन्द्रमा बाधक बनेको विगतको कथा
काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को ट्रेलर रिलिज भएको छ । प्रेमिल ट्रेलरमा आकर्षण सँगै पलाउने प्रेम छ ।
दुवैजनाले प्रेम महसुस गर्न थालेपछि प्रेमिकाले भविष्यका आउनसक्ने समस्यालाई लिएर टाढिन गरेको प्रयासमा ट्रेलर घुमेको छ ।
युवतीको विगत प्रेममा कसरी बाधक बन्छ भन्ने विषय सिनेमामा द्वन्द्वका रुपमा देखिएको छ । विगत मेटाउन कठिन छ भन्ने महसुस गर्ने युवती र सकिन्छ भन्ने हिम्मत गरेर पछि लागिरहने प्रेमीको कथा ट्रेलरमा देखिन्छ ।
चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ट्रेलरमा छन् । दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको छ ।
चलचित्रमा नयाँ अनुहारहरू अभिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांकाक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायांक्न निर्देशन सुसन प्रजापतिले गरेका छन् ।
सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ । डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन् ।




