चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकारी बिक्री

काठमाडौं । माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार बिक्री भएको छ । अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि चलचित्र बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारी ले जानकारी दिए ।

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले चलचित्र रिलिज गर्नेछन् ।

ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत चलचित्र प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए ।

निर्देशक दिनेश राउतले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह सिनेमा हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्‌ ।

चलचित्र ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन् । छायांकन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन को रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन् ।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन्। विशेष गरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । चलचित्रका सबै गीतमा केहर सिंह लिम्बु को स्वर रहेको छ भने संगीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको रहेको छ ।