राजनीतिमा लाग्ने रहर प्रत्युत्पादक नबनोस्


राजनीति गलत होइन, राजनीतिमा लाग्नु पनि गलत होइन । राजनीति गर्ने सबै गलत पनि हुँदैनन् । राजनीति यो वा त्यो व्यक्तिले मात्रै गर्नुपर्छ भन्ने पनि छैन । कलाकारले चाहिँ राजनीति गर्नै हुँदैन भन्ने पनि होइन ।

कलाकार होस् वा व्यापारी । प्रोफेसर होस् वा वकिल राजनीतिमा लाग्न पाइन्छ । तर, यसरी राजनीतिमा लाग्ने व्यक्तिको भिजन र मिसन भने हुनुपर्छ । राजनीतिमा लागेर गर्ने के हो, अथवा राजनीतिक गोल के हो प्रष्ट निर्धारण हुनुपर्छ ।

सबैभन्दा पहिला त राजनीति भनेको समाज सेवा हो भन्ने बुझ्नुपर्छ । देश विकास र समाज परिवर्तनका लागि राजनीतिलाई माध्यम बनाउनु पर्छ ।

होइन भने सांसद् बन्नु मात्रै उपलब्धी होइन । समानुपातिक प्रणालीको व्यवस्था भएको देशमा राजनीतिक दल र तिनको नेतृत्वलाई रिझाउन सके सांसद पद पाउनु ठूलो विषय होइन । त्यसमा पनि कोटामा पर्ने अवस्था छ भने बाटो झनै सजिलो हुन्छ ।

नेपालमा नेता र सांसदको के नै इज्जत छ र ? नेता र सांसद् भन्न बित्तिकै ठग र भ्रष्ट हुन्, बेइमान र नैतिकहिन हुन् भन्ने धेरैको बुझाइ छ । नीतिगत भ्रष्टाचारका मतियार हुन् भन्ने छवि छ । त्यसैलै राजनीतिमा म लाग्नुको कारण यो हो, यी–यी कारणले म राजनीतिमा आएको हुँ भनेर भन्न नसक्ने हो भने भएको इज्जत पनि गुमाउनुबाहेक अर्को उपलब्धी हुँदैन ।

पाँच वर्षका लागि जागिर खान मात्रै जाने हो र सांसदको लोगो मात्रै कोटमा झुण्डाउने रहर हो भने यो दूरदर्शी योजना होइन ।

राजनीतिमा राम्रै भएछ भने ठिकै छ, होइन भने अभिनयमै फर्किन्छु, गीत गाउँनै फर्किन्छु भन्ने सोच राख्ने हो भने दीर्घकालीन रूपमा आफ्नै लागि प्रत्युत्पादक हुन्छ ।

त्यसैले स्पष्ट कार्ययोजनासहित निश्चित उद्देश्य लिएर राजनीतिक यात्रामा लाग्ने हो भने राम्रै हो, अन्यथा ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने हो भने प्रत्युत्पादकबाहेक केही नहुने निश्चित छ ।