‘द ब्ल्यू लाइट’ हेरेर दर्शकले भने– समयभन्दा अगाडि बनेको अनपेक्षित सिनेमा
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’लाई दर्शकले उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार पहिलो शो देखि नै दर्शकले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका हुन् । वर्ड अफ माउथ राम्रो पाएसँगै निर्माण टिम विस्तारै चलचित्रले दर्शकको साथ पाउँदै जाने विश्वास लिएको छ ।
नियमित रुपमा आइरहेका चलचित्रभन्दा फरक स्वाद लिएर ‘द ब्ल्यू लाइट’ आएको भन्दै फरक स्वाद लिन चाहने दर्शकको रोजाइमा यो सिनेमा पर्ने बताएका छन् । समयभन्दा अगाडि नै अनपेक्षित रूपमा ‘द ब्ल्यू लाइट’ बनेको दर्शकले बताएका छन् ।
चलचित्र शाइकोलोजिकल थ्रिलर जानरामा हेर्नै पर्ने नेपाली चलचित्र बनेको भन्दै दर्शकले ‘द ब्ल्यू लाइट’ हेर्न आग्रह गरेका छन् । मेकिङ र अभिनय उत्कृष्ट भएको भन्दै ‘द ब्ल्यू लाइट’को तारिफ गरेका छन् ।
सौतेनी आमाको मायाको अभावमा छोराछोरीले व्यहोर्नु पर्ने दुःख र छोरा मान्छेले सम्बन्धहरूलाई हल्का रुपमा लिँदा श्रीमती र छोराछोरीले भोग्नु पर्ने दुःखले मन छोएको दर्शकले बताएका छन् । मनोरञ्जनसँगै सिनेमाले म्यासेज पनि दिने भन्दै दर्शकले ‘द ब्ल्यू लाइट’ हेर्न आग्रह समेत गरेका छन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ र अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।




