‘कुमारी’ सैयाराको नक्कल होइन, यो मेरो परिपक्व प्रेमकथा हो : निर्देशक राउत

काठमाडौं । चलचित्र ‘कुमारी’ भोलि (शुक्रबार) देखि देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक दिनेश राउतले चलचित्रलाई लिएर बजारमा चलेका विभिन्न चर्चा र तुलनाबारे आफ्नो धारणा स्पष्ट पारेका छन् ।

विशेषगरी सामाजिक सञ्जालमा ‘कुमारी’ लाई बलिउड चलचित्र ‘सैयारा’को नक्कल वा नेपाली संस्करण भन्दै भइरहेको टिप्पणीप्रति निर्देशक राउतले आपत्ति जनाएका छन् । उनले यस्तो तुलनालाई ‘सतही बुझाइ’ को संज्ञा दिएका छन् ।

निर्देशक राउतले दुवै चलचित्रको कथावस्तु, परिवेश र प्रस्तुति पूर्ण रूपमा फरक रहेको बताएका छन् । ‘कुमारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै ‘सैयारा’ सँग यसको तुलना हुन थालेको थियो । दुवै चलचित्रमा नयाँ कलाकार हुनु र दुवै रोमान्टिक जनरामा आधारित हुनुले दर्शकमा यस्तो भ्रम परेको हुनसक्ने उनको विश्लेषण छ ।

पत्रकारहरूसँग कुरा गर्दै राउतले भने, “कुनै पनि चलचित्रलाई अर्को चलचित्रको नक्कल भन्नुअघि त्यसको गहिराइ बुझ्न आवश्यक छ । केवल नयाँ कलाकार छन् र लभस्टोरी हो भन्दैमा ‘सैयारा’ सँग जोड्नु सतही सोच हो । सिर्फ लभस्टोरी र नयाँ कलाकार छन् भन्दैमा दुई फिल्मलाई एउटै भन्न मिल्दैन । ‘कुमारी’ आफ्नै कथा र संवेदनासहित आएको फिल्म हो । फिल्म रिलिजपछि दर्शकले फरकपन आफैं महसुस गर्नुहुनेछ ।”

नेपाली चलचित्र क्षेत्रमा सफल प्रेमकथाहरू निर्देशन गरेर परिचय बनाएका राउतले ‘कुमारी’ मार्फत आफूले लामो समयपछि यो विधामा पुनरागमन गरेको बताए । तर, यसपटकको प्रेमकथा आफ्ना अघिल्ला फिल्महरूभन्दा निकै परिपक्व र फरक शैलीको रहेको उनको दाबी छ ।

“साथीभाइको सल्लाह र मेरो आफ्नै रुचिमा धेरै समयपछि लभस्टोरी निर्देशन गरेको हुँ । पहिले र अहिलेको मेरो प्रेमकथा बुझ्ने दृष्टिकोणमा धेरै परिवर्तन आएको छ,” उनले थपे, “त्यसैले दर्शकले ‘कुमारी’ मा एउटा नयाँ स्वाद र फरक अनुभव पाउनुहुनेछ ।”

चलचित्र ‘कुमारी’ बाट अभिषेक खड्का र आकृति राजभण्डारीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । नयाँ जोडीको केमेस्ट्रीलाई लिएर निर्माण टोली निकै उत्साहित देखिएको छ । चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का र सनम श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । विकास सुवेदीको लेखन रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र संगीतको संयोजन छ ।

चलचित्र रिलिज हुनुअघि नै यसका गीतहरूले दर्शकमाझ राम्रो प्रभाव पारिसकेका छन् । विशेषगरी ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ बोलका गीतहरू अहिले सामाजिक सञ्जाल र टिकटकमा निकै चर्चामा छन् । संगीतको सफलताले पनि चलचित्रलाई लिएर दर्शकमा कौतूहलता जगाएको छ ।

निर्माण पक्षका अनुसार ‘कुमारी’ एउटा मौलिक र अर्गानिक प्रेमकथा हो, जसले दर्शकलाई तुलना भन्दा बढी भावनात्मक सन्देश र मनोरञ्जन दिनेछ ।