चलचित्र ‘कुमारी’ हेरेका दर्शकले के भने ?
काठमाडौं । नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ आजबाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ ।
करिब दुई सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बिहानी शोहरूमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन् ।
चलचित्रले बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । पहिलो शो हेरेर निस्किएका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन् ।
दर्शकले नेपाली प्रेमकथामा बनेका चलचित्रहरूमा ‘कुमारी’ उत्कृष्ट मध्ये एक रहेको प्रतिक्रिया दिएका छन् । चलचित्र युनिट कलाकारहरूसहित बिहानैदेखि हलमा दर्शक भेटेर प्रतिक्रिया लिइरहेका छन् । प्रतिक्रियाबाट टिम उत्साहित देखिएको छ ।
प्रेम कथानक चलचित्र निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक ढंगले चित्रण गरिएको छ ।
यो चलचित्रमार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता केदार भुसाल हुन् । चलचित्रको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ। विकास सुवेदीको लेखन रहेको ‘कुमारी’मा सुशन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।




