बालेनका सारथी अर्जुन उर्फ पाँडे
काठमाडौं । तपाईंले केही दिनअगाडि बालेन जनकपुर हुँदै झापालगायत पूर्वी नेपालको चुनावी अभियानमा निस्किँदा उनीसँगै छाया बनेर एउटा व्यक्ति अगाडिपछाडि गरिरहेको देख्नुभयो ? कहिले भीड हटाउँदै त कहिले बाटो देखाउँदै गरेको देख्नु भयो ? उकाली होस् वा ओराली, भञ्ज्याङ होस् वा चौतारी सँगै देखिरहने ती व्यक्ति हुन्, अर्जुन घिमिरे उर्फ पाँडे ।
अर्जुन बालेनका त्यस्ता सहयोगी हुन्, जसले बालेन काठमाडौं महानगरपालिकाको मेयरमा उठ्दादेखि आजसम्म उनको साथ छोडेका छैनन् ।
अहिले त बालेनको अघिपछि लागेर म तिम्रै मान्छे हुँ भन्नेहरू थुप्रै भए । नेपाली समाज न हो, बलेको आगो ताप्ने प्रवृत्ति छँदै छ । मेयर बनेपछि ठूलो आशा र भरोसा लिएर अघिपछि लाग्नेहरू देखेर त्यति धेरै अनौठो मान्नु पर्दैन । यो हाम्रो रगतमै छ भन्दा पनि फरक पर्दैन ।
तर, अर्जुन बालेन मेयरमा जितिसकेपछि होइन, त्यो भन्दा अगाडिदेखि नै उनका सारथी हुन्, जति बेला बालेनलाई चिन्ने र उनले राजनीति गर्छन् भन्दा विश्वास गर्नेभन्दा खिसीट्युरी गर्नेहरूको जमात ठूलो थियो ।
बालेन स्वतन्त्रबाट लौरो चुनाव चिह्न लिएर मेयरमा उठे । मतगणना गर्दा प्रत्येक उमेदवारको तर्फबाट प्रतिनिधि अनिवार्य बस्नै पर्छ । त्यो समय बालेनको तर्फबाट मतगणनास्थलमा उमेदवारको प्रतिनिधि बस्ने व्यक्ति भेट्टाउन पनि हम्मेहम्मे पर्ने समय थियो । त्यो समय बालेनको तर्फबाट उमेदवारको प्रतिनिधि अर्जुन बसेका थिए । चुनावी अभियानमा त हिँड्नै नै भए । दिनरात खटेका थिए ।
बालेनले अप्रत्यासित नतिजा हात पारे । बालेन स्वतन्त्रबाट चुनाव लडेर मेयरमा निर्वाचित हुँदा कांग्रेस, एमालेजस्ता दल हेरेको हेर्यै भए ।
तीनै बालेन अहिले संसदीय राजनीतिमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बनेका छन् । रास्वपाले उनलाई आफ्नो पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । अहिले बालेन आफ्नो पार्टीका पक्षमा माहोल खडा गर्न देश दौडाहमा छन् । र, उनीसँगै छन्, अर्जुन । बालेनलाई प्रधानमन्त्री बनाउन उनी आफ्नो तर्फबाट सक्दो कोसिस गरिरहेका छन् ।
बालेनको टिम सँगै अछाम पुगेका पत्रकार दिनेश सिटौला बेहोस भएपछि स्थानीय अस्पतालमा उपचार गराउने र सेनाको हेलिकप्टरमा काठमाडौं ल्याएर उपचार गराउने पनि अर्जुन नै हुन् । अर्जुनले दिनेशलाई एक छिन्, छोडेनन् । अन्तिम संस्कार हुँदासम्म फ्रन्टमा रहेर उनैले काम काम गरे ।
बालेनको टिमसँगै गएकाले बालेन र रास्वपाका तर्फबाट दिनेशको उपचारमा केही कमजोरी हुन हुँदैन भन्ने उनको मान्यता थियो । त्यसमा पनि दिनेश अर्जुनको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को मिडिया को–अर्डिनेटर थिए । सँगै काम गरेको साथीका हैंसियतले पनि सहयोग गर्नु उनको धर्म थियो । खुला हृदयले सकेको सहयोग गरे ।
यतिमात्रै पनि होइन, अर्जुनले दिनेश सिटौला स्मृति पुरस्कार स्थापनाका लागि दश लाख रुपैयाँको कोष खडा गरिदिने भएका छन् । यो आफैँमा प्रशंसनीय कार्य हो ।
फेरि लागौँ, बालेन र अर्जुनतर्फ नै । त्यसो त बालेनलाई मात्रै अर्जुनले सहयोग गरेका होइनन् । बालेनले पनि अर्जुनलाई सहयोग गरेका छन् ।
अर्जुन कार्यकारी निर्माता रहेको र कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेको चलचित्र ‘लाज शरणम्’का लागि बालेनले र्याप नै गाइदिए । ‘म नेपाल हासेँको हेर्न चहान्छु’ बोलको र्याप गाएनन् मात्रै, आफ्नै युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिदिए । यो र्याप लोकप्रिय हुँदा ‘लाज शरणम्’को हाइप पनि उचालियो ।
त्यति मात्रै पनि होइन, अर्जुनले आफैँले निर्देशन गरेको चलचित्र ‘झरिपछिको इन्द्रेणी’को शुभमुहूर्तमा त बालेनकी श्रीमती सविना काफ्ले नै पुगिन् । यो चलचित्रका लागि पनि बालेनले र्याप गाइदिए । र्याप थियो, ‘आम नेपाली बुवा’ । यो चलचित्रको विषयवस्तुसँग मिल्ने र्याप गाइदिएनन्, मात्रै बालेनले सोसल साइटबाट चलचित्र हेरिदिन आग्रह पनि गरे ।
बालेनले अर्जुनलाई र अर्जुनले बालेनलाई गरेको यो सहयोगले अर्जुनलाई बालेनका सारथी त भन्न सकिन्छ नै, यो सँगै उनीहरू दुवैलाई एकअर्काको सारथी भन्न पनि सकिन्छ ।




