बालेनको युट्युब च्यानलमा बिहीबार रिलिज हुँदै ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलि (बिहीबार) युट्युबमा रिलिज हुँदैछ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज हुन लागेको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट चलचित्र रिलिज गर्न लागिएको बताइएको छ । यो चलचित्रको गीत पनि बालेनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो । माघ २५ गते यो निर्माण टिमले प्रदर्शनको ५१औं दिन मनाएको थियो ।

पुस ४ गतेबाट प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’ले दर्शकको राम्रो साथ पाएको थियो ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘झरीपछिको इन्द्रेणी’बाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गरेका थिए । उनको अभिनयको तारिफ भएको थियो ।

सिनेमामा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् ।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।