चुनावी माहोल भन्दै हलबाट धमाधम चलचित्र उतारिरहेका बेला राजेश हमालको सिनेमाले दर्शक तान्ला ?
काठमाडौं । यो वर्ष अपबादबाहेक कमै मात्रै चलचित्र बक्सअफिसमा राम्रोसँग चलेका छन् । लगातार अधिकांश चलचित्र बक्सअफिसमा असफल भइरहेका छन् ।
‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आ बाट आमा’लगायत चलचित्र बक्सअफिसमा सफल भए पनि यसबाहेकका अधिकांश चलचित्र असफल भएका छन् ।
बिग बजेटमा बनेका, अपेक्षा गरिएका, राम्रो हाइप बनाएका र रुचाइएका कलाकार र ब्यानरका चलचित्र पनि लगातार असफल भइरहेका बेला अब रिलिज हुँदै छ, राजेश हमाल अभिनीत चलचित्र । चलचित्र हो, ‘प्रवासी जीवन’ ।
गत वर्ष आठ वर्षपछि राजेशको ‘नरसिंहा अवतार’ प्रदर्शनमा आएको थियो । यो चलचित्र बक्सअफिसमा उत्कृष्ट व्यापार गर्न नसके पनि औसत व्यापार गर्न भने सफल भएको थियो ।
अब यो वर्ष राजेशको ‘प्रवासी जीवन’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । हल रिलिज भएर पनि चुनावी माहोलले चलचित्र चलेनन् भन्दै निर्माताले धमाधम चलचित्र उतारिरहेका बेला राजेशको चलचित्र रिलिज हुन लागेको हो ।
‘द ब्ल्यू लाइट’, ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ चुनावकै कारण चलेनन् भनेर हलबाट उतारिएका थिए । यस्तो अवस्थामा राजेश हमालले दर्शक हलमा फर्काउन सक्लान् ? राजेशको चलचित्र भनेर दर्शक हलसम्म हेर्न आउलान्, यो क्षमता राजेशमा छ ? यो भने आजै शुक्रबारबाट देखिनेछ ।
‘प्रवासी जीवन’ प्रवासी जीवनका कथावस्तुमा आधारित चलचित्र हो । यो चलचित्रमा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा रहेको बताइएको छ ।
यो सिनेमालाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर सिनेमा निर्माण गरिएको निर्देशक क्षेत्रीले बताए ।
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित सिनेमाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुनेमा निर्देशक क्षेत्रीले बताएका छन् ।
यो चलचित्रमा राजेशसँगै सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
सिनेमामा अमृत बिसुवाको छायांकन र राम अधिकारीको सम्पादन छ ।



