रास्वपाले देशभरको नतिजा आफ्नो पक्षमा पारिरहँदा राजेशले किन गाली खाइरहेका छन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरको चुनावी परिणाम आफ्नो पक्षमा पारिरहँदा अभिनेता राजेश हमालले भने गाली खाइरहेका छन् । उनले गाली खानुको कारण उनले चुनावको अघिल्लो दिन दिएको अभिव्यक्ति हो ।
निर्वाचनको पूर्वसन्ध्यामा राजेशले एक भिडियोमार्फत देश चलाउन सुझबुझ भएको अनुभवी व्यक्रि चाहिने बताएका थिए । नेपालको भूराजनीतिका कारण नेपाली राजनीति सधैँ पेचिलो हुने गरेको र यसबाट देशलाई जोगाउन फरेन पोलेसी बुझेको र रणीतिक व्यक्ति चाहिने बताएका थिए ।
नेपालको जटिल भूराजनीतिका कारण फरेन पोलेसी बुझेर छिमेकीसहित सबै देशलाई मिलाएर लैजाने व्यक्ति चाहिले अन्यथा नेपालको सार्भभौमिकतामाथि खतरा पैदा हुनसक्ने उनले बताएका थिए । लहड, उक्साहट, बहकाउ र पपुलारिटीभन्दा पनि देश चलाउन रणनीतिक रुपमा सफल र सक्षम व्यक्ति चाहिनेमा उनको जोड थियो ।
सबै देशलाई चित्त बुझाएर देशको सार्वभौमसत्ता जोगएर अघि बढ्न राजनीतिक संस्कार र सभ्यता भएको व्यक्ति चाहिनेमा अभिनेता हमालको जोड दिएका थिए । साथै, उनले पुराना दलहरूको छवि धमिलिएको र नयाँ शक्ति भनाउँदाहरू अपरिपक्व रहेको टिप्पणी गरेका थिए ।
राजनीतिक संस्कार भएको भ्यक्तिको हातमा राज्यसत्ता पुग्नुपर्छ भन्ने राजेशको अभिव्यक्तिलाई रास्वपा समर्थकले रास्वपाविरुद्ध बोलेको रुपमा बुझेर उनलाई गाली गरिरहेका छन् ।
उक्त भिडियो सार्वजनिक भए लगत्तै हजारौँको संख्यामा नकरात्मक टिप्पणीहरू ओइरिएका छन् । रास्वपा समर्थकहरूले हमाललाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ भएको भन्दै टिप्पणी गरिरहेका छन् । धेरैले उनलाई ‘आउटडेटेड’ भएको आरोप लगाउँदै उनको सार्वजनिक कदमाथि नै प्रश्न उठाएका छन् ।
कतिपय समर्थकहरूले त हमाललाई ‘बहिष्कार’ गर्ने र उनको भिडियोलाई ‘रिपोर्ट’ गर्ने सम्मको चेतावनी दिएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, “३० वर्ष देश लुट्नेहरूलाई अनुभवी देख्ने महानायकको चश्मा अब फेर्नुपर्ने बेला भयो ।” अर्का एक आक्रोशित समर्थकले लेखेका छन्, “हमाल जी, अब कलाकारितामै रमाउनुस्, जनताको विवेकलाई ‘लहड’ भनेर अपमान गर्ने अधिकार तपाईंलाई छैन ।”
त्यस्तै, अर्का एक जनाले टिप्पणी गरेका छन्, “कलाकारितामा तपाईंको सम्मान थियो, तर परिवर्तनको लहरलाई उक्साहट देख्नु तपाईंको ठूलो भूल हो । अब नयाँ पुस्ताको पालो हो ।”
निर्वाचनको नतिजाले नयाँ शक्तिको रूपमा रास्वपा उदय भइरहेका बेला महानायक जस्तो सार्वजनिक व्यक्तित्वले दिएको यस्तो अभिव्यक्तिले उनी स्वयंलाई विवादको घेरामा तानेको छ । यद्यपि, हमालले यी आलोचनाहरूका बारेमा अहिलेसम्म कुनै स्पष्टीकरण दिएका छैनन् ।



